प्युठान- प्युठान अस्पतालमा विस्तारित अस्पताल सेवा सुरु भएको छ। लुम्बिनी प्रदेशका जिल्लाहरुमा यो सेवा पहिलो पटक प्युठान जिल्ला अस्पतालबाट सुरु भएको प्युठान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नविन दर्नालले जानकारी दिए।
विशेषज्ञ डाक्टरहरु अस्पतालबाट निजीमा नजाउन भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले बताए। उनले भने ‘यो सेवा सुरु भएपछि निजीमा गएर चर्काे शुल्क तिरेर नागरिकले स्वास्थ्य सेवा लिनु पर्ने बाध्यतामा धेरै कमी आउने देखिन्छ।’
यो कार्यक्रम सञ्चालन भएपछि कार्यालय समयभन्दा पछि पनि नागरिकले जिल्ला अस्पतालबाट शुल्क तिरेर विशेषज्ञ सेवा उपलब्ध हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दर्नालले जानकारी दिए। विस्तारित अस्पताल सेवा निर्देशिका २०७७ अनुसार यो सेवा अस्पतालबाट सुरु गरिएको उनले बताए। यो कार्यक्रमले नेपाल सरकारले संचालन गरेको ‘एक स्वास्थ्य संस्था, एक चिकित्सक’ कार्यक्रम संचालन गर्नका लागि समेत सहयोग पुग्ने अपेक्षा आफूहरुले गरेको दर्नालको भनाइ छ।
कार्यालय समयपछि ओपिडी सेवा दिएबापत नेपाल सरकारले तोकेको ओपिडी सेवा शुल्क प्रति व्यक्ति चार सय पचास रुपैयाँ लाग्नेछ। अन्य ल्याब, एक्सरे लगाएतका सेवा भने नेपाल सरकारले सरकारी अस्पतालमा तोकेको मापदण्ड अनुसार नै हुने उनले जानकारी दिए।
सेवाको औपचारिक सुरुवात कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष सिद्धिमणी सुवेदीले यो सेवाले अस्पतालबाट प्रदान गरिने सम्पूर्ण सेवाको गुणस्तरमा थप सुधार हुने आशा लिएको बताए।
अस्पतालबाट अहिले स्त्री तथा प्रसुति रोग, हाडजोर्नी ,बालरोग, मानसिक रोग जर्नल सर्जरी, इन्टरनल मेडिसिन तथा दन्त रोग विशेषज्ञ सेवा लगायतका सेवाहरु प्रदान भैरहेका छन्।