काठमाडौं- चिकित्सा शिक्षा आयोले एमबिबिएस अध्ययनका लागि आज एकीकृत प्रवेश परीक्षा लिएको छ। परीक्षामा ११ हजार ६६८ जना सहभागी भएका छन्।
एमबिबिएसमा नेपालमा विभिन्न २० वटा मेडिकल कलेजमा गरि १ हजार ८३५ वटा सिट रहेको छ।
आज परीक्षा दिएका विद्यार्थीहरुले यही सिटमा अध्ययन गर्ने अवसर पाउँछन्। परीक्षामा उत्तिर्ण भएका केही विद्यार्थी विदेशमा अध्ययन गर्न पनि जानेछन्।
आजको प्रवेश परीक्षा शान्तिपूर्ण भएको आयोगका सदस्य सचिव डिल्लीराम लुईटेलले जानकारी दिए। उनका अनुसार परीक्षाका लागि फारम भरेका २०३ जना भने अनुपस्थित भएका थिए। फारम भरेका मध्ये ११ हजार ६६८ जनाले परीक्षा दिएको लुईटेलले बताए।
आयोगले काठमाडौं उपत्यकासहित धरान, चितवन, पोखरा र नेपालगञ्जमा परीक्षा केन्द्र तोकेको थियो।
कोभिडका कारण आयोगले काठमाडौं उपत्यकामा २८, धरानमा ४, चितवनमा ४, नेपालगञ्जमा २ र पोखरामा पनि २ वटा परीक्षा केन्द्रको व्यवस्था गरेको थियो।
परीक्षा तालिका अनुसार भोली आइतबार बिडिएसको परीक्षा हुनेछ।