काठमाडौं- स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले नेपाल कोरोना संक्रमणको तेस्रो लहरको पूर्वसन्ध्यामा रहेको बताएका छन्।
सोमबार प्रतिनिधि सभाको शिक्षा समितिको बैठकमा सचिव अर्यालले कोरोनाको तेस्रो लहरको प्रारम्भिक वा पूर्वसन्ध्याको अवस्थामा नेपाल रहेको बताए।
संक्रमण बृद्धि भइरहेकोले नेपाल तेस्रो लहरको पूर्वसन्ध्यामा रहेको उनको भनाइ थियो।
'संक्रमण पछिल्लो ५/७ हप्तादेखि बढिरहेको छ' समितिको बैठकमा उनले भने, 'साउनमा यही दर रह्यो भने तेस्रो लहरको पूर्वसन्ध्यामा रहेको बुझ्नुपर्ने हुन्छ।'
हालसम्म १४ लाखलाई कोरोनाविरुद्धको खोप लगाइएको र २४ लाखले एक डोज खोप लगाएको उनले जानकारी दिए।
अर्यालले ९७ लाख डोज खोप शुक्रबारसम्म आउने र असोजसम्म ३३ प्रतिशतसम्मले खोप लगाउने दाबी गरे। चैतसम्म २ करोड ६५ लाखलाई खोप लगाउने लक्ष्य राखिएको उनले बताए।