काठमाडौं– स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफूले लगानी गरका अस्पतालहरु गैरनाफामुलक भएको दाबी गरेका छन्।सोमबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा राज्यमन्त्री श्रेष्ठले आफू निजी अस्पतालको सञ्चालक भएको भन्दै आलोचना गरिएको विषयमा स्पष्टीकरण दिए। आफूले सञ्चालन गरेको अस्पताल गैरनाफामुलक भएको उनको दाबी थियो।
‘मैले नाफा नलिने सर्तमा सेवामुलक अस्पताल सञ्चालन गरेको हो। सरकारको साधन स्रोतले नधान्ने अवस्थामा हामी सक्ने मान्छेले तेस्रो लहर पनि आउन सक्छ भनेर सेवा मुलक अस्पताल सञ्चालन गरेको हो,’ राज्यमन्त्री श्रेष्ठले भने, ‘विशुद्ध सेवामुलक भावलेनै अस्पताल सञ्चालन गर्न खोजिएको हो।’
उनले सरकारी अस्पतालमा जस्तै सस्तो दरमा उपचार तथा पीसीआर परीक्षण गर्ने गरी अस्पताल सञ्चालन गर्न लागेको बताए।
श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएसँगै स्वास्थ्यक्षेत्रका विज्ञहरुले नै निजी अस्पतालमा लगानी गरेका व्यापारीलाई मन्त्रीमा नियुक्त गरिएको भन्दै आलोचना गरिरेहका छन्।
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले ८ वर्षदेखि शिक्षा तथा स्वास्थ्य समितिमा आवद्ध रहेकाले पनि स्वास्थ्य क्षेत्रको समस्याबारे आफूलाई जानकारी रहेको बताएका छन्।
उनले स्वास्थ्य सेवा प्रदान गर्नु राज्यको दायित्व भएको पनि बताए। स्वास्थ्य राज्यमन्त्री नियुक्त भएसँगै आफ्नो प्राथमिकता खोप कार्यक्रम व्यवस्थित गर्ने भएको उनको भनाइ छ।
पदभार ग्रहण गरेसँगै आफूले कोरोनाभाइरस विरुद्धको खोप ल्याउने विषयमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेको राज्यमन्त्री श्रेष्ठले बताए।
उनले कोभिडमा खटिएका फ्रन्टलाइनर, सवारी साधनका चालक, शिक्षकहरुलाई प्राथमिकता दिएर खोप कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए।
कोरोना संक्रमितको उपचार व्यवस्थापन चुस्त बनाउन आफूले प्राथमिकता दिने उनको भनाइ छ।
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले दोस्रो लहरको कोरोना महामारीमा अक्सिजन अभावले हाहाकार मच्चिएकाले अब तेस्रो लहरको संक्रमणका लागि पूर्वतयारीमा आफूहरु लाग्ने बताए।
स्वास्थ्य मन्त्रालयले गम्भीर भएर अक्सिजन र पूर्वाधार व्यवस्थापनमा विशेष ध्यान दिने उनको भनाइ थियो।
उनले अक्सिजन व्यवस्थापनको लागि अक्सिजन प्लान्ट, लिक्विड अक्सिजन व्यवस्थापन गर्ने पनि जानकारी दिए।
उनले कोरोना महामारी नियन्त्रणमा शिक्षा तथा स्वास्थ्य समितिका सदस्यहरुको सुझावलाई आफूले कार्यन्वयन गर्ने राज्यमन्त्री श्रेष्ठले बताए।