काठमाडौं - स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएसँगै विभिन्न क्षेत्रबाट विरोध सुरु भएको छ। व्यापारीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको भन्दै सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।
नागरिक आन्दोलन अभियन्ता, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी र विभिन्न राजनीतिक दलले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।
योग्य व्यक्तिलाई भन्दा पनि आफ्नो स्वार्थ अनुसार स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको उनीहरुको आरोप छ। शिक्षा र स्वास्थ्यमा मौलाउँदै गएको विकृति विरुद्ध आफूहरु सडकमा उत्रिएको उनीहरुले बताए।
प्रदर्शनमा सहभागी रुप सुनारले कोरोना महामारीको बेला स्वास्थ्य क्षेत्रलाई बुझेको र योग्य व्यक्ति स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिनुपर्ने बताए।
उनले भने, ‘अहिले स्वास्थ्य राज्यमन्त्रीलाई जो व्यक्ति नियुक्त हुनु भएको छ। उहाँको पृष्ठभूमिलाई हेर्ने हो भने उहाँ विभिन्न क्षेत्रसँग गाँसिनु भएको छ। विभिन्न स्वार्थ हुन सक्छ।’
स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको व्यक्ति गलत भएको उनको भनाई छ। नयाँ सरकारले फरक काम गर्ने अपेक्षा गरिएपनि त्यसो हुन नसकेको उनले बताए।
प्रदर्शनमा अर्का सहभागी बिमल अर्यालले पनि स्वास्थ्य राज्यमन्त्रीको नियुक्त बारे आपत्ति जनाए। योग्यताका आधारमा भन्दा पनि व्यक्तिगत स्वार्थका आधारमा स्वास्थ्य राज्यमन्त्रीको नियुक्ति गरिएको उनको भनाई छ।
‘जनतालाई महामारी स्वास्थ्य हेर्ने व्यापारी’, ‘राजनीति तिम्रो व्यवसाय दलाली तिम्रो अतिशय लोकतन्त्र हाम्रो धराशय’ लगायत नारा लेखिएका प्ले कार्ड प्रदर्शन समेत गरिएको थियो।
उनीहरुले धरानमा भइरहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि योग्यताका आधारमा पदाधिकारीको नियुक्ति गर्नुपर्ने लगायत माग उठाएका थिए।