काठमाडौं- विराटनगरस्थित कोशी अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट उत्पादन सुरु भएको छ। अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएफ)ले सहयोग गरेको प्लान्टबाट उत्पादन सुरु भएको हो।
अस्पतालमा जडान गरिएको प्लान्टबाट दैनिक एक सय सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमता रहेको छ। प्लान्टबाट परीक्षण उत्पादन सफल भएको एएनएफ नेपालका अध्यक्ष डा भुपेन्द्र बस्नेतले जानकारी दिए।
डा बस्नेतका अनुसार उक्त प्लान्ट एक करोड ७ लाख लागतमा तयार पारिएको हो।
प्लान्टबाट उत्पादन सुरु भएपछि कोभिड संक्रमित तथा अन्य बिरामीको उपचारमा सहयोग पुग्ने अस्पतालले जनाएको छ।
अस्पतालमा हाल दैनिक २ सय सिलिन्डर अक्सिजन खपत हुँदै आइरहेको छ। प्लान्ट जडान भएपछि बाहिरबाट सिलिन्डरमा अक्सिजन ल्याउनु पर्ने बाध्यता हट्ने विश्वास अस्पतालले लिएको छ।
एएनएफले यसअघि त्रिवि शिक्षण अस्पतालमा पनि अक्सिजन प्लान्ट जडान गरेको थियो। यस्तै गोरखाको आँपपिल अस्पतालमा रोटरीसँग मिलेर प्लन्ट जडानको काम अगाडि बढाइएको डा बस्नेतले जानकारी दिए।
कोभिड महामारीका समयमा एनएनएफले मेडिकल सामग्रीसहित अक्सिजन कन्सन्ट्रेटर लगायत सहयोग गरेको छ।