रोल्पा- रोल्पामा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ। नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाले रोल्पा अस्पतालसँगको समन्वयमा सो केन्द्र स्थापना गरेको हो।
जिल्लाका स्थानीय तह तथा अन्य सहयोगीदाताहरुको आर्थिक सहयोगमा केन्द्र स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाका सभापति डिबी घर्तीमगरले जानकारी दिए। जिल्लामा रक्त सञ्चार केन्द्र नहुँदा बिरामीहरुले समस्या भोग्दै आएका थिए। उक्त समस्या समाधानका लागि रोल्पा रेडक्रसको लामो समयदेखीको प्रयास सफल भएको सभापति घर्तीले बताए।
रोल्पा अस्पतालमा स्थापना गरिएको उक्त केन्द्रका लागि जिल्लाका ९ वटा गाउँपालिकाहरुले ३ लाखका दरले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए। प्रतिवद्धता अनुसार केही गाउँपालिकाहरुबाट सहयोग आइसकेको छ भने केही गाउँपालिकाबाट सहयोग आउन बाँकी रहेको रोल्पा रेडक्रसको भनाइ छ। जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाले भने रक्त संचार केन्द्र स्थापनका लागि अघिल्लो आर्थिक वर्ष ३ लाख सहयोग गरेको र चालु आर्थिक वर्षका लागि ५ लाख प्रस्ताव गरेको नगर प्रमुख पूर्ण केसीले जानकारी दिए।
केन्द्र स्थापनाका लागि व्यक्तिगत रुपमा पनि सहयोग भइरहेको रोल्पा रेडक्रसको भनाइ छ। हालसम्म नेपाली कांग्रेस रोल्पाको उपसभापति किशोरकुमार आचार्यले १ लाख ११ हजार १ सय ११ सहयोग गरेका छन्। यसैगरी प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले १५ दिनको तलब सहयोग घोषणा गरेको रेडक्रस सोसाइटी रोल्पा शाखाका मन्त्री अमर जीएमले जानकारी दिए।
जिल्लामा रक्त संचार केन्द्रको अभावमा यस अघि युवाहरुको सक्रियतामा आपतकालिन रगत आपूर्ती हुँदै आएको थियो। जिल्लामा ‘ब्लड फर रोल्पा’ नामक समूह बनाई आपतकालिन रक्त सेवा संचालन भइरहेको थियो।
रोल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फविन्द्र आचार्यले रगतकै लागी भौतारिनु पर्ने समस्या टरेको जानकारी दिए। उनले यसको दीगोपनाका लागि सबै संवेदनशील हुनुपर्नेमा जोड दिए।