काठमाडौं - सोमबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले नेपालमा चैत मसान्तसम्म आउने कोभिडविरुद्धको खोपका विषयमा जानकारी गराए।
समितिमा जानकारी दिने क्रममा सचिव अर्यालले १२ देखि १८ वर्षसम्मका बालबालिकाका लागि ६० लाख फाइजरको खोप खरिद गर्ने प्रक्रियाका विषयमा पनि जानकारी दिएका थिए।
तर, त्यसको भोलिपल्ट मंगलबार सञ्चारमाध्यममा फाइजरको ६० लाख खोप किन्न सम्झौता नै भइसकेको समाचार प्रकाशित भए। सचिव अर्यालको नै भनाइ राखेर प्रकाशित भएको उक्त समाचार गलत भएको स्वास्थ्य मन्त्रालयका कर्मचारीले बताउँदै आइरहेका छन्। तर हालसम्म उक्त विषयको खण्डन भने मन्त्रालयले गरेको छैन।
उक्त समाचार बाहिर आएपछि स्वास्थ्यखबरले स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई फाइजरको ६० लाख डोज खोप खरीदका लागि सम्झौता भइसकेको हो? भएको हो भने कहिले भएको? भनेर सोधेको छ।
सचिव अर्यालले फाइजरको खोप खरिदकै लागि भनेर अहिलेसम्म सम्झौता नभएको जानकारी दिए। उनले खोप खरिदका लागि आवश्यक अन्य प्रक्रियाहरु अगाडि बढेको तर खरिदकै सम्झौता भने नभएको बताए।
‘खोप खरिद गर्नका लागि खरिद सम्झौता अगाडिको एक किसिमको कन्फिडेन्सियल एग्रिमेन्ट भएको छ,’ उनले भने, ‘उक्त एग्रिमेन्ट भएपछि बल्ल कम्पनीले हामीसँग वार्ता गर्ने र त्यसपछि मुल्य लगायतका अन्य विषयमा छलफल गर्ने प्रक्रिया अघि बढ्छ। खरिद कै सम्झौता भने भइसकेको छैन।’
उनले भविष्यमा फाइजरको खोप खरिद गर्न पर्ने भएकाले त्यसका लागि विश्व बैंकसँग भने सम्झौता गरिएको जानकारी दिए। ‘उसको पैसा लगानी गर्ने भएकाले हामीले विश्व बैंकसँग नन् डिस्क्लोजर एग्रिमेन्ट गरेको हो। तर बाहिर सञ्चारमाध्यममा आएको जस्तो फाइजर खोप खरिदकै सम्झौता भने भएको होइन। आफूले बोलेको भन्दा फरक तरिकाले समाचारहरु आए।’
अमेरिकको फाइजर एन्ड बायोटेक कम्पनीले उत्पादन गरेको खोपका विषयमा नेपालबाट केही समयअघि कम्पनीमा नेपालका बालबालिकालाई खोप लगाउन फाइजरको खोप आवश्यक पर्छ, कहिले र के कति मात्रामा उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा जानकारी माग गर्दै पत्र पठाएको थियो।
मन्त्रालय स्रोतका अनुसार कम्पनीले नेपालको उक्त पत्रमा जवाफ पठाउँदै ‘नेपालमा कति खोप आवश्यक छ?’ भनेर सोधेको छ, तर नेपालले अझै पनि कति खोप आवश्यक छ भन्ने जवाफ पठाउन सकेको छैन।
सरकारले गठन गरेको खोप सल्लाहकार समितिले एक दुई दिनमा नेपालको भण्डारण क्षमता, आवश्यक पर्ने खोप संख्यालगायत विषयमा छलफल गरेपछि मात्र जवाफ पठाउने समितिका एक सदस्यले बताए।
उनका अनुसार कोभ्याक्स सुविधामार्फत फाइजर र मोडर्ना खोप पनि आउन कुरा भइरहेकोले कति संख्यामा फाइजर खोप खरिद गर्ने भन्ने निक्र्योल भइसकेको छैन।
१२ देखि १८ वर्ष उमेर समूहलाई फाइजर र मोडर्ना खोप लगाउने सकिने बताइएको समयमा कोभ्याक्स सुविधामार्फत पनि ती खोप आउने सम्भावना बढेको हो।
फाइजरको खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ। नेपालमा भने माइनस २ देखि ८ डिग्री सेल्सियस तापक्रममा मात्र भण्डारण गर्न सक्ने क्षमता छ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह तिंकरीले माइनस ७० डिग्री सेल्सियसको तापक्रममा भण्डारण गर्ने क्षमता हुँदै नभएको भन्दा पनि सीमित मात्रामा भएको बताए।
उनले भने, ‘टेकुमा, आर्मीसँग, भेटनरी र अन्य निजी क्षेत्रसँग पनि माइनस ७० सेल्सियसको भण्डारण क्षमता छ। कहाँ कति क्षमता छ भनेर हामीले अध्ययन गरिरहेका छौं।’
फाइजरको खोप आउने भयो भने युनिसेफ लगायतका संस्थाले कोल्ड चेनको व्यवस्थापन गर्ने विषयमा पनि छलफल भइसकेको बताइएको छ।
त्यसैगरी चीनसँग खरिद सम्झौता भइसकेको भनिएको थप ६० लाख डोज भेरोसेलको पनि सम्झौता नभएको मन्त्रालयका एक उच्च तहका कर्मचारीले जानकारी दिए। नेपालले भेरोसेल उत्पादक कम्पनी सिनोभ्याकलाई थप ६० लाख डोज आवश्यक पर्न सक्छ भन्ने पत्राचार भने गरेको छ।
‘थप भेरोसेल खरिद गर्न पनि सम्झौता गर्नुपर्छ, पैसा पठाउनुपर्छ नि, त्यो प्रक्रिया भएको छैन। आवश्यक पर्न सक्छ भनेर पत्र चाँही पठाइएको छ,’ स्रोतले भन्यो।
नेपालले कोभ्याक्स सुविधामा मार्फत पाइने १ करोड ३० लाख डोज खोप बाहेक थप खोपका लागि ‘फ्रेम अफ एग्रिमेन्ट’ भने भइसकेको छ। यो भनेको यदी कुनै एक डोज खोपको मुल्य एक डलर पर्छ भने ८० सेन्ट कोभ्याक्स र बाँकी २० सेन्ट नेपालले दिने गरी सम्झौता भएको हो।
‘कस्ट सेयरिङ सम्झौता अनुसार खोप पाइयो भने निकै सस्तो पर्छ। तर, त्यो सम्झौतामा कुन खोप भन्ने उल्लेख छैन। कोभ्याक्सले जुन खोप हामीलाई उपलब्ध गराउन सक्छ, सोही खोपमा कस्ट सेयरिङ हुन्छ,’ खोप सल्लाहकार समितिका एक सदस्यले भने।
उनका अनुसार यसका लागि कोभ्याक्सले पहिले निशुल्क उपलब्ध गराउने खोप उपलब्ध गराइसक्नुपर्ने हुन्छ। अन्यथा अगाडि नै नेपाललाई खोप आवश्यक परे कम्पनीसँग सिधै खोप खरिद गर्नुपर्ने हुन्छ।
असोजसम्म १ करोड ५ लाख खोप आउने
स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा लोहनीले असोजसम्म कोभ्याक्स सुविधा, वैदेशिक अनुदान र खरिदबाट गरी १ करोड ५ लाख ४८ हजार डोज खोप प्राप्त हुने जानकारी दिए।
कोभ्याक्स सुविधाअन्तर्गत जापानबाट १६ लाख डोज एस्ट्राजेनेका खोप भदौ पहिलो सातासम्म आइपुग्ने उनको भनाइ छ। यस्तै, कोभ्यास सुविधाअन्तर्गत थप ३ लाख ४८ हजार डोज खोप भदौको अन्तिम साता प्राप्त हुने पनि उनले जानकारी दिए।
वैदेशिक सहायताअन्तर्गत चीन सरकारबाट १६ लाख डोज खोप प्राप्त हुने उनको भनाइ छ। चीनबाट अनुदानमा प्राप्त हुने खोप साउन अन्तिम सातासम्म नेपाल आइपुग्ने लोहनीले बताए।
डा लोहनीले असोजदेखि चैतसम्म ३ करोड २३ लाख डोज खोप प्राप्त हुने जानकारी दिए। जसअन्तर्गत कोभ्याक्सबाट १ करोड १३ लाख डोज निःशुल्क प्राप्त हुने उनको भनाइ छ। कोभ्याक्सबाटै लागत सहभागितामा कोभिसिल्ड, मोडर्ना, फाइजर, जन्सन एन्ड जन्सन, सिनोभ्याक्स आदि गरी १ करोड ५० लाख डोज खोप प्राप्त हुने लोहनीको भनाइ छ।
डा लोहनीका अनुसार हालसम्म ९७ लाख ८२ हजार ८५० डोज खोप प्राप्त भइसकेको छ। कोभ्याक्स सुविधाअन्तर्गत ३ लाख ४८ हजार कोभिसिल्ड र १५ लाख ३४ हजार ८५० जनसन गरी १८ लाख ८२ हजार डोज खोप प्राप्त भएको लोहनीले जानकारी दिए।
हालसम्म वैदेशिक अनुदानअन्तर्गत चीन सरकारबाट १८ लाख डोज र भारत सरकारबाट ११ लाख डोज खोप प्राप्त भएको छ।
खरिद गरेर हालसम्म ५० लाख डोज खोप प्राप्त भएको डा लोहनीले जानकारी दिए। १० लाख डोज खोप भारतबाट कोभिसिल्ड र ३२ लाख डोज चीनबाट भेरोसेल खोप खरिदबापत प्राप्त भइसकेको उनले जानकारी दिए। खरिद बापत चीनबाट प्राप्तमध्ये ८ लाख डोज खोप शुक्रबार नेपाल आइपुग्ने उनको भनाइ छ।
सरकारले चैतसम्म २ करोड ६५ लाख जनसंख्या (नागरिक) लाई खोप लगाउने लक्ष्य लिएको लोहनीले जानकारी दिए। लक्षितमध्ये असोजसम्म ३३ प्रतिशत र चैत मसान्तसम्म सबै लक्षित जनसंख्यालाई खोप लगाइसक्ने लक्ष्य छ।