काठमाडौं- कक्षा १२ को परीक्षा सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड पालना गर्न प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ।
राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ। चार लाख परीक्षार्थीले चार हजार ३३५ परीक्षा केन्द्रबाट करीब ९० विषयको परीक्षा दिँदै छन्। समितिको बुधबार सम्पन्न ‘कोभिड–१९ को संक्रमणका बीचमा कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्ड’ विषयक छलफलमा जनस्वास्थ्यका मापदण्ड पूरा गरेर मात्र परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो।
परीक्षा केन्द्रमा चिकित्सक, नर्स र औषधिको व्यवस्था गरेर मात्र परीक्षा सञ्चालन गर्नुपर्ने समिति सभापति जयपुरी घर्तीले बताइन्। संक्रमित विद्यार्थीलाई छुट्टै व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।
समिति सदस्य गिरिराजमणि पोखरेलले भौतिक उपस्थितिमा परीक्षा सञ्चालनका लागि शिक्षक र विद्यार्थीलाई खोप उपलब्ध गराउनुपर्ने बताए। माध्यमिक शिक्षा परीक्षा (एसइई) मा विद्यालयले आफैं आन्तरिक मूल्यांकन गरेर पठाउँदा अनियमितता गरेकाले कार्यविधि परिवर्तन गरिनुपर्नेमा जोड दिए। परीक्षा केन्द्रित पठनपाठन शैलीमै परिवर्तन गर्नुपर्ने सदस्य विद्या भट्टराईले बताइन्।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले समितिले दिएको सुझावअनुसार परीक्षा सञ्चालन गरिने बताए। ‘भर्चुअल’ विधिबाट पढाइ भए पनि दुर्गम क्षेत्रमा इन्टरनेटको समस्याका कारण प्रभावकारी हुन नसकेकाले भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्नु परेको उनले बताए।
बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले विद्यार्थीलाई संक्रमणबाट जोगाउन छुट्टै सेन्टरको व्यवस्था गरिएको बताए।
अहिलेको परीक्षामा सहभागी हुन नसकेका संक्रमित विद्यार्थीले पछि पनि परीक्षा दिने पाउने व्यवस्था मिलाइएइको यनले बताए। एउटा केन्द्रमा २ सयभन्दा बढी परीक्षार्थी नहुनेसमेत उनले जानकारी दिए।