काठमाडौं– चिकित्सा शिक्षा आयोगले पहिलो पटक लिएको चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको उत्तरपुस्तिका संकलन गरिरहेको छ। साउन ९ देखि १३ गतेसम्म भएको स्नातक तहको प्रवेश परीक्षाको उत्तरपुस्तिका संकलनको काम भइरहेको आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले जानकारी दिए।
डा गिरीका अनुसार काठमाडौं केन्द्रमा भएको परीक्षाको उत्तरपुस्तिका आयोगमा आइसकेको छ भने नेपालगञ्ज, पोखरा, चितवन र धरानबाट उत्तरपुस्तिका ल्याइँदै छ।
‘काठमाडौं उपत्यकाको उत्तरपुस्तिका आइसकेको छ, उपत्यका बाहिरका ४ ठाउँको उत्तरपुस्तिका भोलीसम्ममा आइपुग्छ,’ डा गिरीले भने।
उनले उत्तरपुस्तिका आइपुगेपछि भोलीदेखि नै परीक्षण गरिने पनि जानकारी दिए।
प्रवेश परीक्षाको नतिजा भने एकसाता सम्ममा आउन सक्ने डा गिरीको भनाइ छ। आयोगले लिएको प्रवेश परीक्षामा एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ लगायतका विषयमा २५ हजार ३०० जनाले प्रवेश परीक्षा दिएका थिए।