काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्यमन्त्रीमा आफू निकटलाई नै नियुक्त गर्ने तयारी गरेका छन्। स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भइसकेपछि ‘फूल मन्त्री’मा पनि देउवाले आफू निकटलाई जिम्मेवारी दिने तयारी गरेको एक नेताले बताए। स्वास्थ्य मन्त्रालयमा फरक दल वा पार्टीभित्रै फरक समूहबाट मन्त्री र राज्यमन्त्री नबाउने सोचमा देउवा रहेको बताइएको छ।
देउवा निकट एक नेताले भने,‘फरक दलबाट वा दलभित्रका दुई समूहबाट मन्त्री र राज्यमन्त्री बनाउँदा प्रभावकारिता कम हुने सोचेर आफ्नै समूहबाट स्वास्थ्यमन्त्री बनाउने तयारी छ।’ फरक समूहबाट मन्त्री र राज्यमन्त्री हुँदा निर्णय प्रक्रियामा एकले अर्कालाई असहयोग गर्न सक्ने हुनाले एउटै पक्षबाट मन्त्री बनाउने सम्भावना रहेको बताइएको छ।
स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त श्रेष्ठ प्रधानमन्त्री निकट रहेकाले मन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्कीलाई जिम्मेवारी दिने सम्भावना समेत रहेको देउवा निकट एक नेताले बताए। कानूनी पृष्ठभूमि रहेकी पुष्पा भुसाललाई कानूनमन्त्रीको जिम्मेवारी दिएर हाल कानूनमा रहेका कार्कीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने सम्भावना रहेको उनले बताए।
देउवाले कार्कीलाई ल्याउने तयारी गरे पनि यसमा अन्य केही नेताहरुले भने मानेका छैनन्। उनीहरुले स्वास्थ्यमा मन्त्री नियुक्त गर्दा धेरै कुराको सोचविचार गर्न प्रधानमन्त्रीलाई सुझाव दिइरहेका छन्।
गठबन्धनका अन्य दल र पार्टी भित्रका समूहले आफ्नो पक्षका नाम सिफारिस गरेको अवस्थामा आजै मन्त्रीको सपथ हुने बताइएको छ। बिहीबार मन्त्रालय भागवण्डा र नाममा सहमति हुन नसके शुक्रबार सपथ हुने भएको छ।
स्वास्थ्यमन्त्रीमा नेता कृष्णप्रसाद सिटौला निकट उमाकान्त चौधरीको चर्चा चलेको थियो। चौधरी मन्त्री बन्ने निश्चितप्रायः भएपनि कुन मन्त्रालय भने टुंगो नलागेको बताइएको छ।
कोरोना महामारीको समयमा स्वास्थ्य मन्त्रालयमा योग्य र दक्ष मन्त्री नियुक्त गर्न जनस्वास्थ्य विज्ञले सुझाव दिँदै आइरहेका छन्। महामारीको तेस्रो लहर आउने सम्भावना बढ्दै गएको भन्दै विज्ञहरुले क्षमता हेरेर मात्र स्वास्थ्य मन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका छन्।
स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठलाई नियुक्त गरेपछि सर्वत्र विरोध भइरहेको छ।