काठमाडौं– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुद्धिकरणको अभियान सहित स्वास्थ्यकर्मी तथा कर्मचारी ४६ दिनदेखि आन्दोलनरत छन् । उनीहरुले शिक्षा र स्वास्थ्य क्षेत्र राजनीतिक पूर्वाग्रह, दलीय भागबन्डा तथा निहित स्वास्थ्यमुक्त बनाउन, प्राज्ञिक सर्वोच्चता कायम गराउन, सुशाशन र पारदर्शिता कायम गराउन प्रतिष्ठानमा भष्ट्राचार अन्त्य हुनुपर्ने लगायतका विभिन्न मागहरु राखेका छन्।
आन्दोलनरत स्वास्थ्यकर्मीले शुक्रबार विभिन्न दलका नेता तथा पूर्वमन्त्रीहरुसँग प्रतिष्ठानको आन्दोलन र मागका विषयमा छलफल गरेका छन्।
सो क्रममा पूर्व स्वास्थ्यमन्त्री तथा विभिन्न दलका नेताहरुले प्रतिष्ठानका कर्मचारीहरुले राखेको विभिन्न मागहरुप्रति सहमति जनाउँदै आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन्।
सो क्रममा एमालेका सचिव एवं पूर्व मन्त्री भीम आचार्यले प्रतिष्ठानमा भइरहेको आन्दोलन प्रति आफ्नो पूर्ण समर्थन रहेको बताए। उनले पाटीभित्र नै समस्या रहेकाले पार्टीकै तर्फबाट समर्थन गर्न नसकेपछि आफूले भने बिपी प्रतिष्ठान सुधारको चाहना राखेको जानकारी दिए।।
बिपी प्रतिष्ठान राजनितीक अखडाको सिकार बन्न पुगेकोमा दुःख व्यक्त गर्दै उनले
प्रतिष्ठानलाई सुधार्न आवश्यक रहेकोमा जोड दिए।
उनले प्रतिष्ठानका पदाधिकारीहरु राजनीतिक दलको संरक्षणमा हुँदा पनि समस्या भएको भन्दै प्रतिष्ठानका मुद्धालाई राजनितिकरण नगरी सुद्धिकरणका लागि लाग्न आग्रह गरे।
यस्तै पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले चिकित्सा शिक्षा आयोग, स्वास्थ्य मन्त्रालय पनि प्रतिष्ठानको समस्या समाधानका लागि जवाफदेही हुनुपर्ने बताए।
उनले शिक्षा तथा स्वास्थ्य समितिमा पनि बिपी प्रतिष्ठानको विषय छलफलको एजेन्डा बन्न नसकेको जानकारी दिए।
विवेकशील साझा पार्टीका शशिविक्रम कार्कीले प्रतिष्ठानका कर्मचारीले राखेका मागका विषयमा समर्थन जनाए। उनले प्रतिष्ठानमा ४० दिनभन्दा बढी समयदेखि भइरहेको आन्दोलनका विषयमा सरकारले चासो नदिनु दुखद भएको बताए।