काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा सरुवा भएका सचिव लक्ष्मण अर्याललाई स्वास्थ्य मन्त्रालयले आइतबार विदाई गरेको छ।
मन्त्रालयका एक कार्यक्रमको आयोजना गरी सचिव अर्याललाई विदाई गरेको हो।
स्वास्थ्य मन्त्रालयबाट विदाई हुने क्रममा सचिव अर्यालले स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुलाई मिलेर काम गर्न सुझाव समेत दिए।
उनले स्वास्थ्य मन्त्रालयको नेतृत्व स्वास्थ्य तर्फका कर्मचारीले गर्न सक्ने भन्दै स्वास्थ्य मन्त्रालयमा घरिघरी प्रशासनतर्फको सचिव आमन्त्रण नगर्न पनि आग्रह गरे।
‘मेरो रिक्वेस्ट छ तपाईंहरु मिल्नुस्, कुनै प्रशासन तर्फको सचिव यहाँ काजमा आउनु हुन्न, प्रशासन तहको नेतृत्व गर्दा प्रोफेसनल भएर काम गर्नुस्,’ उनले भने, ‘फेरि मेरा प्रशासन तर्फका सचिव साथीहरु तपाईंहरुलाई हटाएर यहाँ आउनुपर्ने अवस्था सिर्जना नगर्नुस्।’
स्वास्थ्यमा केही समयदेखि प्रशासन र स्वास्थ्य सेवाको दरवन्दी राखिएको छ। दुई दरवन्दी हुँदा स्वास्थ्यमा सचिवबीच नै विवादको अवस्था आउने गरेको थियो।
स्वास्थ्य प्रविधिक मन्त्रालय भएकाले स्वास्थ्य सेवाकै सचिव हुनुपर्नेमा नेपाल चिकित्सक संघ लगायतका संस्थाले लामो समयदेखि माग गर्दै आएका थिए। शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि स्वास्थ्यमा स्वास्थ्य सेवा तर्फकै डा रोशन पोखरेल सचिव भएका छन्। डा पोखरेल सचिव भएपछि सरकारले प्रशासन तर्फका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेको हो।
सचिव अर्यालले सरुवाको पत्र आज नै पाइसकेको जानकारी दिए।
उनले स्वास्थ्य मन्त्रालयमा १४ महिना काम गर्दा ५ वटा मन्त्री फेरिएको भन्दै मन्त्रालयमा मन्त्रीको विदाइ र स्वागतमै लाग्नुपरेको समेत उनले सुनाए।
‘१४ महिनामा स्वास्थ्य मन्त्रालयमा ५ जना मन्त्रीसँग काम गरे,कति दवाव थियो, कति प्रभाव, प्रेसर थियो,’ उनले भने,‘मन्त्रीलाई स्वागत र विदाई गर्यो, फेरी काम गर्नुपर्ने अवस्था थियो।’
उनले साउनदेखि मंसिरसम्म कोरोना महामारी नियन्त्रणका लागि द्रुत योजनाका साथ काम गर्नुपर्ने आवश्यकता समेत रहेको बताए।
सचिव अर्यालले तेस्रो लहरको महामारी नियन्त्रणका तयारी गर्दा बालबालिकालाई लक्षित गरेर तयारी गनुपर्ने पनि बताए।