काठमाडौं - आन्दोलित कर्मचारीहरुले कोभिड युनिफाइड केन्द्रीय अस्पताल वीरका प्रमुख कार्यकारी अधिकारी डा जागेश्वर गौतमलाई प्रवेश निषेध गरेको छ।
वार्ताका लागि पुगेकामध्ये चार जना कर्मचारी प्रहरीको कुटपिटले घाइते भएपछि उनीहरुले डा गौतमलाई अस्पताल प्रवेशमा रोक लगाएका हुन्। हाल उनीहरु अस्पताल परिसरमा बिहान ९ बजेदेखि धर्नामा बसिरहेका छन्।
कर्मचारीले डा गौतमले नै प्रहरी बोलाएर कर्मचारी कुटाएको आरोप लगाएका छन्।
नयाँ प्रमुख नआएसम्म डा गौतमलाई अस्पताल प्रवेशमा रोक लगाइने स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए।
उनले भने, ‘हामीले डा जागेश्वर गौतमलाई अस्पताल प्रवेशमा निषेध गरेका छौँ। उहाँलाई हटाएर अर्को मान्छे नपठाउँदासम्म हामी अस्पताल छिर्न दिदैनौ।’
उनीहरुले कर्मचारीहरु माथि कुटपिट गर्ने प्रहरीले माथि कारबाहीको माग समेत गरेका छन्। माग सम्बोधनका लागि दबाब दिन डा गौतमको कार्य कक्षमा पुगेका कर्मचारीहरु माथि हातपात भएको थियो।
विगत आठ महिनादेखि जोखिम भत्ता र सेवा सुविधा नपाएको भन्दै उनीहरु आन्दोलनरत छन्। पटक पटक सेवा सुविधा पाउनुपर्ने माग राखेपनि पुरा नभएपनि उनीहरु पुनः माग सम्बोधनका लागि दबाब दिन डा गौतमको कार्यकक्षमा पुगेका थिए। वार्ताकै क्रममा प्रहरीले चार जना महिला कर्मचारी माथि हातपात भएको थियो।