काठमाडौं- संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए)ले नेपालको कोभिड–१९ महामारी प्रतिकार्यमा उपलब्ध गराउँदै आएको मानवीय सहायतालाई निरन्तरता दिंदै थप जीवनरक्षक सामग्री प्रदान गरेको छ।
नेपालस्थित यूएनएफपिए उपप्रतिनिधि डा हसिना बेगमले आज रु १ करोड १९ लाख (१ लाख अमेरिकी डलर) मुल्य बराबरको ८०० थान अक्सिजन सिलिन्डर स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह तिंकरीलाई हस्तान्तरण गरेकी छन्।
नेपालको कोभिड–१९ प्रतिकार्यका लागि यूएनएफपिएबाट प्राप्त सहयोग नेपाल सरकार, चीन सरकार र युएनएफपीएबीचको विद्यमान दक्षिण–दक्षिण र त्रिकोणीय सहयोग परियोजना सम्झौता अन्तर्गत चीन सरकारबाट प्राप्त आर्थिक सहयोगका कारण सम्भव भएको हो।
कोभिड–१९ को दोस्रो लहरविरुद्ध सङ्घर्ष गरिरहेको समयमा नेपालले अक्सिजनको ठूलो अभाव भोग्नु परेको थियो। महामारीले देशभरिका स्वास्थ्य संस्थाहरुमाथि निकै ठूलो दबाब सिर्जना गरेको छ। “हामीलाई अहिलेको आपतकालीन स्थितिको सामना गर्न र सम्भावित तेस्रो लहरको लागि तयारी गर्न अक्सिजन चाहिन्छ। चीन सरकार र यूएनएफपिएको यो सहयोगले अक्सिजन आपूर्ति सहज रहेका स्वास्थ्य संस्थाहरुमा पहुँच बढाउन मद्दत गर्नेछ”, डा तिंकरीले भने। “हाम्रो सामूहिक कोभिड–१९ प्रतिकार्यमा अन्तरराष्ट्रिय विकास साझेदारहरुसंगको साझेदारीको हामी कदर गर्दछौं।”
महामारीले महिला र जोखिमपूर्ण अवस्थामा रहेका व्यक्तिहरुमाथि निकै ठूलो असर पारेको छ, जसले परिवार नियोजनसहित यौन तथा प्रजनन स्वास्थ्य सेवाहरु प्राप्त गर्न ठूला व्यवधानका साथै लैङ्गिक हिंसाको बढ्दो जोखिमको सामना गरिरहेका छन्।
“कोभिड–१९ का बिरामीहरुलाई महत्वपूर्ण सहयोग प्रदान गर्दा हामीले महिला र किशोरीहरुमाथि यो अप्रत्यासित महामारीको प्रभाव न्यून गर्न स्वास्थ्यकर्मीहरुको सुरक्षा, लैङ्गिक हिंसा र हानिकारक अभ्यासहरुको सम्बोधन र गर्भनिरोधक तथा प्रजनन स्वास्थ्य सामग्रीहरुको आपूर्ति सहित यौन तथा प्रजनन् स्वास्थ्य सेवाहरुको निरन्तरतालाई सुनिश्चित गर्नुपर्छ,” यूएनएफपिए नेपालकी प्रतिनिधि लुब्ना बाकीले भनिन्।
प्रजनन उमेरका महिलाहरु तथा किशोरीहरुको विशेष र निश्चित आवश्यकताहरु सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि यूएनएफपिएले सङ्घीय, प्रादेशिक र स्थानीय सरकारहरु र साझेदारहरुसंग काम गरिरहेको छ। “यो महत्वपूर्ण समयमा जीवन बचाउनका लागि अक्सिजन सिलिन्डर उपलब्ध गराउनमा सहयोग गर्ने चीन सरकारलाई धन्यवाद छ। उनले भनिन्।
रोकथाम गर्न सकिने मातृमृत्युको अन्त्य, परिवार नियोजन सेवाको अपरिपूर्त मागको अन्त्य र लैङ्गिक हिंसा र हानिकारक अभ्यासहरुको अन्त्य गरी तीन रूपान्तरणकारी लक्ष्यहरुतर्फको प्रगतिमा महामारीको प्रभावलाई न्यून गर्नका लागी संयुक्त राष्ट्रसङ्घका अन्य निकायहरु र विकास साझेदारहरुको साथमा यूएनएफपिएले सरकारको कोभिड–१९ प्रतिकार्य योजनाहरुका लागि उपलब्ध गराइरहेको सहयोगलाई निरन्तरता दिने बताएको छ।
यसअघि पनि चीन सरकारको सहयोगमा यूएनएफपिएले महिला तथा युवतीहरुका लागि जीवन रक्षक यौन तथा प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसाविरुद्धका सेवाहरुको निरन्तरता सुनिश्चित गर्दै संक्रमण रोकथाम गर्ने नेपाल सरकारको प्रयासलाई मद्दत गर्न ७ हजार२४८ थान पिपिई कीट उपलब्ध गराएको थियो।
त्यसका अतिरिक्त, अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्रहरु र सुरक्षित आवासगृहहरु मार्फत यूएनएफपिएले चीनको सहयोगमा कोभिड–१९ र मनसुन आपतकालीन प्रतिकार्य स्वरूप देशभरी महिला तथा किशोरीहरुलाई ३ लाख ४२ हजार९३० थान सेनेटरी प्याड वितरण गरेको छ।