काठमाडौं- सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षसँग वार्ता गर्न समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डा कृष्णप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन्।
समितिका सदस्यहरुमा मन्त्रालयका कानुनका उपसचिव मानबहादुर बस्नेत र प्रशासनका अधिकृत देवराज भण्डारी रहेका छन्। राज्यमन्त्रीको सचिवालयका अनुसार समितिका संयोजक र सदस्यहरुले भोली मंगलबार पत्र बुझेर काम अगाडि बढाउने छन्।
प्रतिष्ठानमा ४७ दिनदेखि आन्दोलन भइरहेको छ। प्रतिष्ठानका चिकित्सक, कर्मचारी र विद्यार्थीले प्रतिष्ठान सुधारका लागि विभिन्न १२ बुँदे माग राख्दै आइरहेका छन्।
प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिले शनिबार सरकारलाई वार्ता समिति बनाउन र मागका विषयमा ठोस कदम चाल्न ७२ घण्टाको अल्टमेटम दिएका थिए। उक्त अल्टिमेटम मंगलबार साँझ सकिँदैछ। उक्त अवधिमा पनि सरकारले आवश्यक कदम नचाले उपचार लगायतका सेवा तथा काम बहिष्कारको चेतावनी दिएका छन्।
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सोही कुरा ख्याल गर्दै समस्या समाधानका लागि वार्ता समिति बनाएको उनको सचिवालयले जनाएको छ।