काठमाडौं - काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले न्यूरो सर्जरीमा प्रयोग हुने अत्याधुनिक उपकरण नेपाल भित्र्याएको छ।
कार्नियल रोबोर्ट न्यूरो सर्जरीमा एस८ स्टेल्थ विथ अटो गाइड (न्याभिगेसन सिस्टम विथ रोबोट), निम्स एक्लेप्स भर्सन ४ अल्ट्रा अपरेटिभ, नेभिगेटेड ड्रिल एण्ड मिस सिस्टम जस्ता अत्याधुनिक उपकरण भित्र्याएको अस्पतालले जनाएको छ।
अस्पतालले बिहीबार पत्रकार सम्मेलन गरी केही दिनभित्र सेवा सुरु गर्ने गरी उपकरणहरु जडान गरिसकेको जनाएको छ। उक्त प्रविधिबाट उपचार गर्दा समयको बचत हुनुका साथै बिरामीको सुरक्षा प्रत्याभूत गर्न सकिने अस्पतालका एड्भान्स न्यूरो साइन्सेस सेन्टरका निर्देशक एवं वरिष्ठ न्यूरो सर्जन डा अमित थापाले बताए।
उनका अनुसार कार्नियल रोबर्टको सहायताले जहाँ ट्युमर छ, त्यही पत्ता लगाएर शल्यक्रिया गर्न सकिन्छ। सानो प्वाल पारेर दुरबिनको सहयोगले शल्यक्रिया गर्न सकिने, रोबोर्टले ट्युबहरुलाई ट्युमर भएकै ठाउँमा राख्न सक्ने, थ्रीडी इमेज देखाउन सक्ने यो प्रविधिको विशेषताहरु हुन्।
डा थापाले भने, ‘पहिले ठूलो चिरा पार्नु पथ्र्यो भने अब सानो चिरा पारे हुन्छ। जहाँ ट्युमर छ, त्यही पत्ता लगाएर शल्यक्रिया गर्न सकिन्छ। यसले बिरामीको सुरक्षालाई अझ बढी प्रत्याभूत गर्छ। साथै समयको पनि बचत हुन्छ।’
रोबोर्ट आफैले नभई चिकित्सकको निर्देशन अनुसार मात्र काम गर्ने डा थापाले जानकारी दिए। काठमाडौं मेडिकल कलेजमा डा थापाको नेतृत्वमा उनी सहित चार जना न्यूरो सर्जन छन्।
नेपालमै पहिलो पटक न्यूरो सर्जरीमा यस किसिमको प्रविधि भित्र्याएको अस्पतालको दाबी छ। हालसम ६ हजार जनाको न्यूरो सर्जरी गरिएको अस्पतालले जनाएको छ।