काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ। काेराेना संक्रमण बढ्दै गएकाे अवस्थालाई ध्यानमा राखेर मन्त्रालयले शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई परीक्षा स्थगन गर्न सिफारिस गरेको हो।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले यथास्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने जानकारी दिएका हुन्।
'कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु,' राज्यमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्।
पछिल्लो समय कक्षा १२ को परीक्षाका विषयलाई लिएर विवाद सिर्जना भइरहेको थियो। स्वास्थ्य मन्त्रालयको उक्त सिफारिस सोही परीक्षा लक्षित भएको बताइएको छ।