काठमाडौं– नेपाल नेत्रज्योति संघ र करुणा फाउण्डेशन नेपालबीच आँखा सेवाका लागि सम्झौता भएको छ। अन्धोपन र कम दृष्टि भएका मानिसहरुलाई आवश्यक उपचार र पुनर्स्थापना सेवा प्रदान गर्ने शर्तहरु तय गरी दुई संस्थाले सम्झौता गरेका हुन्।
उक्त सम्झौताले सम्बन्धि सरोकारवालालाई आँखा र कान सम्बन्धि विषयवस्तुहरुको पहिचान गरी समस्या समाधान गर्न जागरुक गराउने जनाइएको छ।
सम्झौतामा नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्द र करुणा फाउण्डेसनका अध्यक्ष प्राडा भगवान कोइरालाले हस्ताक्षर गरेका छन्। आँखाका बिरामीहरुको पुनर्स्थापना र उपचार सेवालाई सुनिश्चितता गर्न आवश्यक गतिविधिहरु संचालन गर्ने र सम्बन्धित निकायहरुसँग समन्वय गर्ने बताइएको छ। संघ अन्तर्गतको बिराटनगर आँखा अस्पतालले सो फाउण्डेसनसँग अर्को सम्झौता पनि गरेको छ।
जसले आँखा तथा कान सम्बन्धि अपांगता हटाउने र प्रदेश १ मा रहेका अपांगताको जीवनस्तरमा सुधार ल्याउने जनाइएको छ।
सम्झौता कार्यक्रममा संघका महासचिव भरतबहादुर चन्दले संघले बहुक्षेत्रीय साझेदारीको रणनीतिलाई अवलम्बन गर्दै आँखा र कानको सेवा हरेक नागरिक र परिवारको पहुँच सुनिश्चित गर्न अगाडी बढेको बताए।
सन् २०२० मा कोरोना भाइरसले आँखाको बिरामीहरु उपचारका लागि सम्पर्कमा आउन कठिन भएको अवस्थामा पनि संघका २२ आँखा अस्पताल, १२८ उपचार केन्द्र र ४२ जिल्ला शाखा मार्फत कुल १३ लाख १७ हजार ६३२ जनालाई बहिरंग आँखा सेवा प्रदान गरिएको संघले जनाएको छ। यस्तै कुल १ लाख २१ हजार ३६२ जनालाई शल्यक्रिया सेवा प्रदान गरिएको छ।