काठमाडौं- नेपालको चिकित्सा क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै १५ जना महिला चिकित्सक सम्मानित भएका छन्। नेपाल चिकित्सक संघले ‘वुमन इन मेडिसिन इन नेपाल २०२१’ अवार्डमार्फत विशेष सम्मान गरेको हो।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष सम्मान गरेकी हुन्। सम्मानित हुनेहरुमा डा. दिव्या श्री मल्ल, डा. रिता थापा, डा. सरस्वती पाध्ये, डा. सुधा शर्मा, डा. किरण रेग्मी, डा. राधा शाह, डा. आशा सिँह, डा. कुशुम थापा, डा. सगिंता भण्डारी, डा. दिव्या सिंह शाह, डा. चन्दा कार्की, डा. सानु माया दली, डा. अचला वैध, डा. तारा मानन्धर र डा. सुधा अग्रवाल छन्।
चिकित्सक संघका अनुसार डा दिव्याश्री मल्ललाई अब्स्टेट्रिक्स तथा गाइनोकोलोजीको शिक्षा विकासका लागि अवार्ड दिइएको छ। उनले अब्स्टेट्रिक्स तथा गाइनोकोलोजीको पढाई लण्डनको रोयल कलेज अफ अब्स्टेट्रिसियन तथा गाइनोकोलोजिस्टमा गरेकी हुन्। उनी परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालकी पूर्व निर्देशक हुन्।
उनले सन् १९६० देखि १९७४ सम्म वीर अस्पतालमा मेडिकल अफिसर भएर काम गरेकी थिइन् भने परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट हुँदै, उपनिर्देशक तथा निर्देशक भएर लामो समय काम गरेकी थिइन्।
डा रीता थापालाई जनस्वास्थ्य सेवामा योगदान दिएवापत अवार्ड प्रदान गरिएको हो। डा थापा पहिलो मेडिकल अफिसर हुन् जसले सरकारको परिवार नियोजन तथा मातृ र बालबालिकाको स्वास्थ्य कार्यक्रम शुरु गरेकी हुन्।
उनी इन्टिग्रेटेड कम्युनिटी हेल्थ सर्भिस डेभलप्मेन्ट प्रोजेक्टको पहिलो प्रमुख महिला हुन्। नेपालमा प्राथमिक स्वास्थ सेवा संचालन गर्नेमा उनको नाम जोडिन्छ। उनले विश्वस्वास्थ संगठनको कार्यालय मनिला, जेनेभा र नयाँदिल्लीमा पनि काम गरेकी छिन्।
डा. सरस्वती पाध्येलाई अब्स्टेट्रिक्स तथा गाइनोकोलोजी सेवाका लागि अवार्ड प्रदान गरिएको छ। उनी अब्स्टेट्रिक्स तथा गाइनोकोलोजी अभ्यासका वरिष्ट कन्सल्ट्यान्ट हुन्। नेपालका विभिन्न कलेजमा यस विषयमा पढाउने तथा एमबिबिएस परीक्षामा परीक्षकका रुपमा पनि काम गरेकी छिन्।
उनी अहिले पनि काठमाडौं मेडिकल कलेज टिचिङ अस्पतालमा कन्सल्ट्यान्टका रुपमा कार्यरत छिन्। उनी नेपाल सोसाइटी अफ अब्स्टेट्रिसियन तथा गाइनोकोलोजीका पूर्व अध्यक्ष र नेपाल स्वास्थ्य अनुसन्धान परिषदको पूर्व बोर्डसदस्य पनि हुन्।
डा सुधा शर्मालाई नेपाल तथा अन्तर्राष्ट्रिय जगतमा स्वास्थ्य नीति तथा स्वास्थ सेवामा योगदान दिए वापत अवार्ड प्रदान गरिएको छ। उनी अब्स्टेट्रिक्स तथा गाइनोकोलोजी विशेषज्ञ हुन् भने नेपालका विभिन्न अस्पतालमा मेडिकल अफिसरका रुपमा काम गरेकी छिन्।
उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वसचिव हुन् भने परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालकी पूर्व निर्देशक पनि हुन्। उनले युनिसेफबाट तान्जानीयामा स्वास्थ्य तथा पोषणको प्रमुख भएका काम गरेकी थिइन् भने बेलायतको साउथमेड अस्पताल र टेमसाइड जेनेरल अस्पतालमा काम गरेकी थिइन्।
उनी नेपाल सोसाइटी अफ अबस्टेट्रिसियन एण्ड गाइनोकोलोजिस्ट र साउथ एसियन फेडेरेसन अफ अबस्टेट्रिक्स एण्ड गाइनोकोलोजीका पूर्व अध्ययक्ष हुन्।
उनी हाल सिवेक अस्पताल तथा ट्राभल मेडिसिन सेन्टरमा सह निर्देशकको रुपमा कार्यरत छिन्।
डा कुसुम थापालाई नेपाल तथा अन्तर्राष्ट्रिय जगतमा प्रजनन स्वास्थ्यमा प्रगति गराउन मद्धत गरेकोमा सम्मान प्रदान गरिएको हो। उनी पाठेघर मुखको क्यान्सर स्क्रिनिङका राष्ट्रिय संयोजक हुन्। उनी नेपाल मेडिकल एसोसियसनको जर्नलको प्रमुख सम्पादकका रुपमा कार्यरत थिइन्।
उनी हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य केन्द्र तथा लौगिंक हिंसासम्बन्धित तालिम दिने टोलीमा छिन्। उनी प्रिन्सेस अफ वेल्स अस्पताल बेलायतमा अब्स्टेट्रिक्स तथा गाइनोकोलोजीका रजिस्ट्रार तथा प्रथम वरिष्ठ हाउस अफिसर थिइन्। उनी जोन होप्कीन्स विश्वविद्यालयको टेक्निकल सल्लाहकार, युएसआइडीको मोमेन्टम कन्ट्री तथा ग्लोबल लिडरसिपमा छिन्।
डा किरण रेग्मीलाई पेरिफेरल हेल्थ सर्भिसमा योग्दान गरेवापत सम्मान गरिएको हो। उनले २९ वर्ष स्वास्थ्य सेवामा विताएकी छिन् भने २२ वर्ष ग्रमीण क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गरेकी छिन्।
उनले बाग्लुङ, सेती अञ्चल अस्पताल तथा भरतपुर अस्पतालमा सेवा दिएकी छिन्। उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वसचिव हुन्।
उनले स्वास्थ्य मन्त्रीको सल्लाहकारका रुपमा कार्य गरेकी छिन् भने राष्ट्रिय जनस्वास्थ्य नीति बनाउनमा उनको ठूलो योगदान रहेको छ। उनी स्त्रीरोग विशेषज्ञ हुन्।
डा आशा सिंहलाई नेपाल प्रहरी अस्पतालमा सेवा पुर्याएवापत सम्मान गरिएको हो। उनी वरिष्ठ स्त्रीरोग विशेषज्ञ हुन्। उनले नेपाल पुलिस अस्पतालमा डिएसपी र एआईजिपि भएर काम गरेकी छिन्। एमडी गाइनो र अब्स्टेट्रिक्समा प्रथम भएका कारण गोल्डमेडल पनि जितेकी थिइन्। उनले देशैभरि प्रजनन स्वास्थ्यसम्बन्धी हेल्थ्य क्याम्प सञ्चालन गरेकी थिइन्।
डा. संगीता भण्डारीलाई स्वास्थ्य शिक्षामा योगदान पुर्याएवापत अवार्ड प्रदान गरिएको हो। उनले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इएनटी, हेड एण्ड नेक सर्जरीमा एसोसियट प्रोफेसर भएर कार्यरत थिइन् भने हेड एण्ड नेक अंकोलोजीका प्रमुख पनि थिइन्।
उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकूलपति थिइन् भने हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकूलपति हुन्।
डा दिव्यासिंह शाहलाई नेपालमा अंग प्रत्यारोपणमा योगदान दिएवापत सम्मान गरिएको हो। उनी त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्सिच्युट अफ मेडिसिन (आईओएम) की डिन हुन् भने शिक्षण अस्पतालमा नेफ्रोलोजी तथा प्रत्यारोपण विभागमा प्रमुख भएका कार्यरत थिइन्।
उनी नेपालको पहिलो सफल मानव अंग प्रत्यारोपणको टोलीकी अगुवा पनि हुन्। उनले अस्ट्रेलियाको रोयल मेल्वर्न अस्पतालमा भिजिटिङ डाक्टर भएर काम गरेकी थिइन्।
डा चन्दा कार्कीलाई संस्थागत स्वास्थ्य सेवामा टेवा पुर्याएकोमा सम्मान गरिएको छ। उनले चिकित्सा शिक्षामा २१ वर्ष व्यतित गरेकी छिन्। चिकित्सा शिक्षासंगै अनुसन्धानमा पनि योगदान दिएकी छिन्। उनी काठमाडौं मेडिकल कलेज (केएमसी) को सिनेटको पूर्वसदस्य हुन् भने केएमसीकै प्रधानाध्यापकसमेत रहेकी छिन्। उनी नोबल मेडिकल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउन्डेशनकी सिइओ तथा प्रिन्सिपल पनि हुन्।
उनी नेपाल सोसाइटी अफ अब्स्टेट्रिक्स तथा गाइनोकोलोजिस्टका पूर्व अध्यक्ष र साउथ एसियन फेडरेशन अफ अब्स्टेट्रिक्स तथा गाइनोकोलोजीको उपध्यक्ष रहेकी छिन्।
डा सानुमैया दलीले प्रजनन स्वास्थ्य तथा किशोरी स्वास्थ्यमा योगदान पुर्याएकी छिन्। बालबालिका तथा महिला स्वास्थ्यमा योगदान पुर्याएवापत उनले विश्वबाटै ग्लोबल रिकग्नीसन पाएकी थिइन्। त्रिभुवन विश्वविद्यालय स्थापना भएपछि आइओएममा एसोसियट प्रोफेसर र अब्स्टेट्रिक्स तथा गाइनोकोलोजी विभागको प्रमुख भएर काम गरेकी थिइन्। उनले मातृ स्वास्थ्यमा विभिन्न अध्ययनहरु गरेकी छिन् भने विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुसँग मिलेर रिसर्च पनि गरेकी छिन्।
उनी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पूर्वबोर्डअध्यक्ष हुन् भने नेपाल स्वास्थ्य अनुसन्धान परिषदको इथिकल बोर्डको पनि सदस्य थिइन्। उनले विश्व स्वास्थ्य संगठन नयाँदिल्लीमा रही काम गरेकी छिन्।
डा अचला वैद्यलाई मेडिकल रिसर्च तथा साइन्टिफिक पब्लिकेशनमा योगदान पुर्याएकोमा अवार्ड प्रदान गरिएको छ। उनले मेडिकल अफिसर भएर विभिन्न जिल्लामा काम गरेकी छिन् भने स्त्रीरोग विषेशज्ञ भएर २७ वर्ष काम गरेकी छिन्।
उनी जर्नल अफ नेपाल मेडिकल एसोसिएसन तथा जर्नल अफ नेश्नल हेल्थ रिसर्च काउन्सिलको सम्पादकका रुपमा काम गरेकी छिन्। उनले उक्त जर्नलहरु पबमेड सिस्टममा राखेर नेपालको अनुसन्धान भएका जर्नलहरु विश्वभरि चिनाएकी थिइन्।
डा सुधा अग्रवाललाई देशभर डर्माटोलोजी र भेनेरियोलोजीमा योगदान पुर्याएकोमा सम्मान गरिएको हो। उनले २१ वर्षसम्म नेपालको पूर्वी क्षेत्र तथा भारतसँग सिमाना जोडिएका क्षेत्रमा छाला तथा कुष्ठरोग सेवा प्रदान गरेकी थिइन्। उनी सोसाइटी अफ डर्मेटोलोजिस्ट, भेनेरियोलोजिस्ट एण्ड लेप्रोलोजिस्टकी अध्ययक्ष पनि थिइन्। उनले २३ वर्षसम्म एमबिबिएस, विडिएस, नर्सिङका विद्यार्थीहरुलाई अध्यापन गराएकी छिन्।
डा तारा मानन्धरले क्यान्सर उपचारमा योगदान पुर्याएकी छिन्। उनी न्याम्स बीर अस्पतालकी प्रमुख थिइन् भने एमडी रेडियोथेरापी कार्यक्रमकी संयोजक थिइन्। उनी नेपालको पहिलो रेडिएसन अंकोलोजिस्ट हुन्। उनी नेपाल न्यूक्लियर सोसाइटीकी उपाध्यक्षसमेत रहेकी थिइन्। उनी नेपाल क्यान्सर रिलिफ सोसाइटीको संस्थापक अध्ययक्ष पनि हुन्।
डा राधा नेपाल आर्मीको पहिलो महिला ब्रिगेडिएर जनरल हुन्। उनले नेशनल युनिभर्सिटी अस्पताल सिंगापुर र ब्रुक्लिन आर्मी अस्पताल टेक्सास अमेरिकामा सेवा प्रदान गरेकी छिन्। उनी बाल स्वास्थ्य चिकित्सक हुन्। उनले त्रिचन्द्र आर्मी अस्पतालमा सिनियर मेडिकल अफिसर र वीरेन्द्र अस्पतालमा पेडियाट्रिक विभागमा प्रमुखका रुपमा काम गरेकी छिन्।