काठमाडौं- रक्त क्यान्सरबाट पीडीत श्रीमतीको उपचार गर्न खर्च सकिएको भन्दै श्रीमानले सरकार र सर्वसाधारणसंग हारगुहार मागेका छन्। मिनभवनस्थित निजामती अस्पतालमा उपचाररत बाल कुमारी जोगीको उपचारका लागि खर्च सकियो भन्दै उनका श्रीमान् खेमबहादुर जोगीले सरकार र सर्वसाधारणसंग सहयोग मागेका हुन्।
अस्पतालमा रक्त क्यान्सरको उपचार गराइरहेकी २८ वर्षीया जोगीको उपचार राम्रो हुँदै गएको डाक्टरले बताएका छन्। तर अस्पतालमा लामो समय राखेर उपचार गर्नु पर्ने रोग भएको र आफन्तसँग ऋण गरेर ल्याएको पैसा सकिएकोले अब उपचार कसरी गर्ने भन्ने दुविधामा आफू रहेको खेम बहादुरले बताए।
उनले दुई नाबालक सन्तानकी आमालाई बचाउन उपचार जारी राख्नुपर्ने तर त्यसका लागि खर्च अभाव भएको सुनाए। ‘उपचारका लागि केही समय र रकम लाग्ने भएको छ। तर रकम छैन्। उपचार हुँदा हुँदै कसरी निकाल्नु? लौ न सहयोगी मनले मेरो पुकार सुनिदिनु पर्यो,’ खेमबहादुरले विन्तीभाव प्रकट गरे।
कटारी- १३, मयाँखु, उदयपुरका खेमबहादुर मजदुरीका लागि काठमाडौँ आएका थिए। उनी धापासीमा बस्थे र दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्दथे। श्रीमती सहित १३ र ११ वर्षीय छोरा छोरीहरु गाँउमै बस्ने गरेका थिए।
असारको अन्तिम साता बाल कुमारीको दाँतबाट रगत आयो भनेपछि काठमाडौं बोलाई बसुन्धराको कान्तिपुर डेन्टल कलेजमा जचाउन लगेका थिए। ‘जाँचका क्रममा डाक्टरले यो दाँतको सामान्य समस्या मात्र नभइ शरीरमा सेतो रक्तकोषको पनि कमि देखिएको छ। क्यान्सर पनि हुनसक्छ भन्दै निजामती अस्पतालमा जान सुझाव दिनुभयो। यहाँ आएर जाँच गर्दा रक्तक्यान्सर देखियो,’ खेमबहादुरले भने।
उनले उपचारमा लाग्ने खर्च आफूले धान्न नसकेको बताए। ‘मेरो आफ्नै मिर्गौला पनि सुन्निएको छ तर श्रीमतीको यस्तो अवस्था आएपछि आफू बिरामी छु भन्न पनि सकेको छैन्,’ उनले भने।
‘डाक्टरले अलि राम्रो हुँदै गएको छ भनेको र अस्पताल भर्ना भएको भन्दा बिरामी अलि राम्रो हुँदै गएकाले उपचार छाड्न मन मान्दैन तर उपचार गर्न धन छैन,’ उनले भने।
सहयोग गर्न चाहनेले आफूलाई ९८६३८७९९३४ नम्बरमा फोन गरेर वा माछापुच्छ्रे बैकको खाता नं ०४४०९३३७७९७०१३५२ खेम बहादुर जोगीका नाममा बैकमा जम्मा गरेर पनि सहयोग गर्न सकिने उनले बताए।