काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्रहरुमा हुने भीड व्यवस्थापन गर्न स्थानीय तह र स्वास्थ्य संस्थाहरुलाई आग्रह गरेको छ।
जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गरी खोप केन्द्रहरुमा हुने भीड व्यवस्थापन गर्न मन्त्रालयले आग्रह गरेको हो।
खोप केन्द्रहरुमा थप स्वास्थ्यकर्मी र आवश्यकता अनुसार स्थानीय रुपमा स्वयंसेवकहरु परिचालन गरेर भएपनि सर्वसाधारणलाई सहज हुने व्यवस्था मिलाउन मन्त्रालयको अपिल छ।
मन्त्रालयले जारी गरेको अपिलमा भनिएको छ, ‘हाल चलिरहेका र सुरु हुने अभियानहरुमा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुलाई सहज हुने गरी व्यवस्थापन गर्नुहुन सम्पूर्ण जिल्ला खोप समन्वय समिति, जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय निकाय र सबै सरोकारवालाहरुलाई अनुरोध छ।’
खोप आपूर्ति बढाउँदै केन्द्रहरु विस्तार गरेपनि खोप केन्द्रहरुमा हुने भीड व्यवस्थापन गर्न नसकिएको मन्त्रालयले जनाएको छ।