काठमाडौं– नेप्लिज मेडिकल स्टुडेन्ट एशोसियसन, बंगलादेशका मेडिकल विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मेडिकल विद्यार्थीको समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन्।
शनिबार प्रधानमन्त्री देउवालाई भेटेर एशोसियसनका अध्यक्ष नविन यादवले ७ बुंदे ध्यानाकर्षण पत्र बुझाएका हुन्।
मेडिकल विद्यार्थीहरुले कोरोनाको महामारीको समयमा केही कलेजहरुमा परीक्षा तथा इन्टर्नसिपका लागि नेपाली विद्यार्थीहरुलाई सम्बन्धित कलेजले बोलाइरहेको र भ्याक्सिन लगाएर २४ घण्टा भित्रको नेगेटिभ पिसिआर रिपोर्ट लिएर गएकाहरु पनि अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था रहेकाले सम्बन्धित कलेजकै होस्टलमा होस्टल क्वारेन्टाइनको व्यवस्थापनका लागि पहल गर्न आग्रह गरेका छन्।
यस्तै, भ्याक्सिन लगाउन नपाएका तथा बंगलादेशमै रहेका नेपाली विद्यार्थीलाई यथाशिघ्र भ्याक्सिनको व्यवस्थापनका लागि पहल गर्ने, पिजी अध्ययनरत चिकित्सकहरुको तथा एमबिबिएस, बिडिएस इन्टर्नसिप गरिरहेका विद्यार्थीहरुको समस्या समाधानका लागि पहल गर्न पनि आग्रह गरेका छन्।
उनीहले विद्यार्थी भिसा एक्सटेन्सनमा अनियमितता भएको र विद्यार्थीहरुले २ वर्षको भिसाका लागि शुल्क तिरेपनि एकवर्षको मात्र भिसा पाउने गरेकाले सो समस्या समाधानका लागि पहल गर्न पनि आग्रह गरेका छन्।
यस्तै, बंगलादेशका मेडिकल कलेजमा नेपाली विद्यार्थी भर्ना गर्न कलेजको मापदण्ड नतोकिएकाले विद्यार्थीहरु ठगिने गरेको भन्दै प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराएका छन्।
नेपाली विद्यार्थीहरु भर्ना गर्न कलेजको पूर्वाधार, हस्पिटल, कलेजको वार्षिक नजिता, कलेजको छात्राबासको सुविधा आदिबारे अध्ययन नै नगरि नेपाली विद्यार्थी भर्ना लिन स्वीकृति दिँदा विद्यार्थीहरु समस्यामा पर्ने गरेको उनीहरुको गुनासो छ। बंगलादेशमा हाल ५ हजार भन्दा बढी नेपाली विद्यार्थी छन्।