काठमाडौं– सरकारले राज्यको नीतिविपरित मेडिकल कलेजहरुलाई दिइएका सम्बन्धनको पुनरावलोकन गर्ने भएको छ।
संयुक्त सरकारले साझा न्यूनतमम कार्यक्रम सार्वजनिक गर्दै राज्यको नीतिविपरित मेडिकल कलेजलाई दिइएका सम्बन्धनको पुनरावलोकन गर्ने जानकारी दिएको हो।
नेपालमा निजी मेडिकल कलेजहरुलाई विभिन्न नाममा सम्बन्धन दिइएको छ। कानुन तथा मापदण्ड विपरित विभन्न नाममा दिइएका सम्बन्धनका विषयमा पटक पटक आवाज समेत उठ्दै आइरहेको छ।
यस्तै, चिकित्सा शिक्षाको नियामक निकायलाई प्रभावकारी बनाउने पनि सरकारको तयारी छ।
स्वास्थ्यमा जनताको सरल र सहज पहुँच स्थापित गर्न आधारभूत स्वास्थ्य केन्द्र र अस्पतालहरूलाई विस्तार गरी स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पुर्याउने, प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने र स्वास्थ्य बिमाको पहुँचलाई विस्तार गर्ने पनि जनाएको छ।