काठमाडौं– सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका फ्याकल्टी तथा कर्मचारीहरुको छोराछोरीको लागि व्यवस्था गरेको आरक्षित कोटा कटौती गरिएको भन्दै प्रतिष्ठानका फ्याकल्टी तथा कर्मचारीहरुले विरोध गरेका छन्।
चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले एक विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा लिने भएपछि स्नातक तहका विभिन्न विधामा प्रतिष्ठानले व्यवस्था गर्दै आएको आरक्षित कोटा मन्त्रिपरिषदले नियमावली संशोधन गरेर कटौती गरिएको भन्दै विरोध जनाएका हुन्।
आफ्ना छोरा छोरीले कोटा पाउने भएर नै प्रतिष्ठानका सबै शिक्षक कर्मचारीले दुःख, कष्ट झेलेर सेवामा लागिरहेको उनीहरुले बताएका छन्।
तर अप्रत्यासित रूपमा कोटा हटाइएको जानकारी पाएको भन्दै उनीहरुले आफूहरुमाथि अन्याय भएको बताएका छन्।
उनीहरुले यसै शैक्षिक सत्रदेखि नै पूर्ववत शिक्षक, कर्मचारीका निम्ति छुट्याइएका कोटाहरूको व्यवस्था गर्न माग समेत गरेका छन्।
आफ्नो माग पुरा नभए आन्दोलनमा जान बाध्य हुने उनीहरुले बताएका छन्।
