कञ्चनपुर– महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा बाल चिकित्सा कोभिड अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ।
तेस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि अस्पतालले चालु आर्थिक वर्ष २०७८/७९ मा बालबालिकालाई लक्षित गरी ९० लाख रुपैयाँको लागतमा ५० शय्याको अस्पताल भवन निर्माण गर्न लागेको हो। भवन निर्माणका लागि ठेक्का सम्झौतासमेत भइसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए।
उनका अनुसार बालबालिकालाई लक्षित गरी बनाउन लागिएको अस्पताल असोजभित्रै निर्माण पूरा हुने समय सीमा निर्धारण गरिएको छ। अस्पतालमा कोभिडको संक्र्रमणमा परेका बालबालिकाको उपचार हुनेछ। उपचारका लागि चिकित्सक, स्वास्थ्यकर्मी, औषधि, आवश्यक औजार उपकरण र अक्सिजनको व्यवस्था हुने जनाइएको छ।
बाल चिकित्सा अस्पताललाई सुविधा सम्पन्न बनाउनका लागि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले विशेष प्राथमिकतामा राखेको छ। बाल चिकित्सा कोभिड अस्पतालको आइतबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले शिलान्यास गरेका हुन्।
त्रिनगर र गड्डाचौकी सीमा नाकामा भारतबाट फर्कनेको चापलाई मध्यनजर गर्दै एक/एक हजार अट्ने होल्डिङ सेन्टर निर्माणको कार्य अगाडि बढिसकेको सो अवसरमा उनले जानकारी दिए।
महाकाली अस्पतालमा यसअघि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले ५० शय्याको आइसोलेसन भवन निर्माण गरेको थियो। रासस