काठमाडौं– कोरोना संक्रमण तथा जोखिम न्यूनीकरणका लागि जारी निषेधाज्ञाबारे छलफल गर्न आज तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ।
मंगलबार दिउँसो ३ बजेका लागि तय भएको बैठकले निषेधाज्ञाको समीक्षा गरी थप्नेबारे निर्णय गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।
पछिल्लो समय संक्रमित बढेसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञा बढाउने तयारी भइरहेको बताउँदै उनले बैठकपछि थप निर्णय हुने बताए।
‘कोरोना सक्रमण जोखिम कायमै छ, त्यसैले निषेधाज्ञा थप्नुपर्ने आवश्यक देखिएको छ,’ उनले भने, ‘यस विषयमा बैठकमा छलफल गरी निर्णय हुन्छ।’
बैठकमा छलफल गरेर मात्र कुन–कुन क्षेत्रमा रोक लगाउने र खुलाउने निर्णय गरिने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए। उपत्यकामा जारी निषेधाज्ञा भोलि (बुधबार) सकिँदै छ।
नेपालमा दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेको थियो।
काठमाडौँ उपत्यकामा लकडाउन खुकुलो भएसंगै संक्रमणको डर बढिरहेको छ। निषेधाज्ञा खुकुलो हुनुअघि र खुकुलो भएपछिको अवस्थालाई तुलना गर्ने हो भने अहिले धेरै संक्रमितहरु देखिन थालेका छन्।