गोरखा- उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका-३, स्थित सिर्दिबास फिलिमकी एक गर्भवतीको हेलिकप्टरबाट आज उद्धार गरिएको छ। दुई दिनदेखि प्रसव व्यथा लागेकी २५ वर्षीय छिरिङ डोल्मा गुरुङको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। नेपाली सेनाको हेलिकप्टरबाट गुरुङको उद्धार गरी सुत्केरी गराउन काठमाडाैँ पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए।
'घरमै प्रसव व्यथा लागेको दुई दिनसम्म पनि बच्चा जन्माउन नसकेपछि गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालयको विशेष पहलमा गर्भवतीको उद्धार गरिएको हो', उनले भने, 'आज बिहानै सेनाको हेलिकप्टर झिकाएर काठमाडौँ पठाइएको छ।' राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत विकट क्षेत्रका गर्भवतीको आपत्कालीन उद्धार हुँदै आएको छ।
गाउँपालिकाको अनुरोधमा जिल्ला प्रशासन कार्यालयले महिला तथा बालबालिका कार्यालयमा उद्धारका लागि सिफारिस गरेपछि गुरुङको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए। सडक सञ्जालको पहुँज नपुगेको उत्तरी गोरखामा गर्भवतीलाई सुत्केरी गराउन स्वास्थ्य संस्थासम्म पुर्याउन कठिन हुँदा घरमै सुत्केरी गराउनुपर्ने बाध्यता रहँदै आएको छ।
रासस
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।