काठमाडौं– चिकित्सा शिक्षा आयोगले गत साउन ९ देखि १३ गतेसम्म पहिलो पटक स्नातक तहको एकीकृत प्रवेश परीक्षा लियो।
आयोगले लिएको प्रवेश परीक्षामा करिब आधा विषयमा सिटसंख्या भन्दा कम विद्यार्थी उत्तीर्ण भएका छन्।
आयोगले निर्धारण गरेको सिट संख्या र आयोगले नै प्रकाशन गरेको नतिजासँग तुलना गर्दा बिएससी नर्सिङ, बिएससी एमएलटी, बिएससी एमआइटी, बिपिटि, बि फार्मा र बिपीएचमा सिट संख्या भन्दा प्रवेश परीक्षामा उत्तीर्ण हुनेको संख्या कम रहेको छ।
आयोगले बिएससी नर्सिङ तर्फ सिटसंख्या ११०० तोकेको छ, तर ५०४ जना मात्र पास भएका छन्। सो विषयमा प्रवेश परीक्षा दिनेको संख्या भने ३ हजार ९८२ जना थियो।
यस्तै, बिएससी एमएलटी तर्फ सिट संख्या ४२५ रहेकोमा ११८ जना मात्र पास भएका छन्। सो विषयमा प्रवेश परीक्षा दिनेको संख्या भने एक हजार जना थियो।
बिएससी एमआइटी तर्फ सिट संख्या ७१ रहेकोमा २८६ जनाले प्रवेश परीक्षा दिएकोमा पास हुने ३५ जना मात्र छन्।
बिपिटी तर्फ १५० सिट रहेकोमा ५३७ जनाले परीक्षा दिएकोमा ११४ मात्र पास भएका छन्। बि फार्मा तर्फ ९०२ सिटसंख्या निर्धारण गरिएको छ तर प्रवेश परीक्षामा ५४७ जना मात्र पास भएका छन्। सो विषयमा परीक्षा दिनेको संख्या भने ३ हजार १३६ थियो।
यस्तै, अयोगले १ हजार ४२० सिट निर्धारण गरेको बिपिएच तर्फ २ हजार ६२२ जनाले परीक्षा दिएकोमा ५६५ जना मात्र पास भएको देखिन्छ।
आयोगले चिकित्सा शिक्षा तर्फ स्नातक तहमा १३ वटा विषयमा प्रवेश परीक्षा लिएकोमा ६ वटा विषयमा आयोगले निर्धारण गरेको सिटभन्दा कम विद्यार्थी पास भएको देखिन्छ।
यी विषयमा सिटसंख्या भन्दा पास हुने विद्यार्थी कम
बिएससी नर्सिङ
परीक्षार्थी ३९८२
सिट ११००
पास ५०४
खाली हुने सिट ५९६
बिएससी एमएलटी
परीक्षार्थी १०००
सिट ४२५
पास ११८
खाली हुने सिट ३०७
बिएससी एमआइटी
परीक्षार्थी २८६
सिट ७१
पास ३५
बिपिटी
परीक्षार्थी ५३७
सिट १५०
पास ११४
खाली हुने सिट ३६
बि फार्मा
परीक्षार्थी ३१३६
सिट ९०२
पास ५४७
खाली हुने सिट ३५५
बिपीएच
परीक्षार्थी २६२२
सिट १४२०
पास ५६५
खाली हुने सिट ८५५
यसरी प्रवेश परीक्षामा अनुत्तीर्ण भएपछि धेरै विद्यार्थीले आफूले चाहेको विषयमा अध्ययन गर्न नपाउने भएका छन्।
आयोगले निर्धारण गरेको सिटसंख्या भन्दा कम विद्यार्थी उत्तीर्ण भएपछि आयोगको परीक्षा प्रणाली, शिक्षाको गुणस्तर र विद्यार्थी शैक्षिक अवस्थाबारे नै प्रश्न उठेको छ।
प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएपछि कतिपय विद्यार्थीले आफूले अनुमान गरेको भन्दा कम नम्बर आएको भन्दै गुनासो समेत गरेका छन्।
आयोगले पूर्णता पाएपछि लिएको पहिलो परीक्षामा आयोगकै सिटसंख्या अनुसार परीक्षार्थी उत्तीर्ण नभएपछि स्वास्थ्य क्षेत्रका विज्ञहरुले आयोगको परीक्षा प्रणालीमा पनि समस्या भएको हुनसक्ने समेत बताएका छन्। कतिपय विज्ञहरुले आयोगले अध्ययनका लागि प्रवेश गर्नुअघि नै हाइ लेभलको प्रश्नपत्र बनाएको हुनाले पनि परीक्षार्थीले परीक्षामा पास गर्न नसकेको तर्क समेत गरेका छन्।
‘नर्सिङ पढ्न प्रवेश परीक्षा दिनेलाई एमबिबिएसको प्रश्नपत्र दिएर विद्यार्थीले कसरी पास गर्छन्,’ नाम नबताउने सर्तमा आयोगकै एक सदस्यले भने, ‘कि त सिट नै नदिएको भए हुन्थ्यो, स्ट्यान्डर्ड चाँही विद्यार्थी पास नै हुन नसक्ने बनाइदिएर हुँदैन।’
आयोगले निर्धारण गरेको सिटसंख्या देशको आवश्यकता अनुसार नै भएपनि आयोगले लिएको परीक्षामा कम विद्यार्थी उत्तर्ण गराउँदा आयोगलाई आफ्नै लक्ष्य पुरा गर्न समस्या हुने उनले बताए।
उनले खाली हुने सिटमा के गर्ने भन्ने विषयमा पनि गम्भीर हुनुपर्ने कुरामा जोड दिए।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान् कोइरालाले आयोगको प्रवेश परीक्षाको नतिजाले प्राथमिक तथा माध्यमिक तहको अध्ययन, अध्यापन प्रणालीमा समस्या रहेको वा आयोगले नै लिएको प्रवेश परीक्षा प्रणालीमा समस्या भएको हुनसक्ने बताए।
उनले यो नजितालाई राम्रोसँग मुल्यांकन गर्नुपर्ने र पाठ सिक्न आवश्यक रहेको पनि बताए।
आयोगका सदस्य समेत रहेका डा कोइरालाले भने, ‘यो नतिजाले हामीलाई मल्टिपल विषयमा रिभ्यु गर्न बाध्य पार्ने छ। रिभ्यु गर्नुपर्ने हुन्छ हाम्रो परीक्षा प्रणाली, हाम्रो देशको आवश्यकता र विद्यार्थीको चाहना बीच तालमेल नदेखिएको देखियो।’
नेपाल जनस्वास्थ्य संघका उपाध्यक्ष डा कृष्णमान शाक्यले आयोगले लिएको प्रवेश परीक्षामा सिटसंख्या भन्दा कम विद्यार्थी उत्तीर्ण हुनुले आयोगले लिएको परीक्षाबारे अध्ययन गर्नुपर्ने बताए।
आयोगले पहिलो पटक लिएको परीक्षामा ‘हाइ स्ट्यान्डर्ड लेभल’को परीक्षा प्रणाली लागू गरेको हुनसक्ने उनको बुझाइ छ।
आयोगले तय गरेको प्रवेश परीक्षाको लेभल अनुसार परीक्षार्थीले प्रवेश परीक्षा तयारी गर्न नसकेको हुनाले पनि प्रवेश परीक्षामा कम विद्यार्थी उत्तीर्ण भएको हुनसक्ने उनले बताए।
‘दुईवटा कुरा म्याच भइरहेको छैन, आयोगले परीक्षा प्रणालीमा हाइ स्ट्यान्डर्ड प्रश्नपत्र सेट गर्यो,’ उनले भने, ‘जसले गर्दा सिट संख्याभन्दा पनि कम विद्यार्थी पास भएका छन्।’
सिट खाली हुने अवस्था देखिएकाले आयोगले यस विषयमा गम्भीर भएर सोच्नुपर्ने डा शाक्य बताउँछन्।
‘आयोगले गम्भीर भएर सोच्नुपर्छ, समस्या कहाँ, किन र के कारणले भयो भनेर,’ उनले भने, ‘आयोगले यस विषयमा अध्ययन गरेर रिभ्यु गर्नुपर्छ।’
उनले नेपालको शैक्षिक प्रणाली कमजोर भएको तर परीक्षा प्रणाली भने कडा सिस्टममा भएकाले पनि सिट संख्या अनुसार परीक्षार्थी पास हुन नसकेको बताए।
नेपाल फार्मेसी काउन्सिलका रजिष्ट्रार सञ्जिव पाण्डेयले डिप्लोमा तहमा बेसिक साइन्स र फार्मेसी सम्बन्धि अध्ययन गरेर प्रवेश परीक्षा दिएका विद्यार्थीका लागि बनाइएको प्रश्नपत्रमा नै अनुपात नमिलेको बताए।
‘डिप्लोमा फार्मेसी सम्बन्धि अध्ययन गरेर आउनेले बेसिक साइन्स एकवर्ष पढेका हुन्छन्, उनीहरुले दोस्रो र तेस्रो वर्ष फार्मेसी सम्बन्धि विषय बढी पढेका हुन्छन्,’ उनले भने, ‘प्रवेश परीक्षामा केही विद्यार्थी प्लसटु साइन्स पढेर आए, केही डिप्लोमा फार्मेसीबाट तर त्यसको अनुपान नमिलाई प्रश्नपत्र बनाइएको देखिएको छ। त्यही भएर नजिता यस्तो आयो।’
उनले प्रश्नपत्र बनाउदा सम्बन्धित विषयका विज्ञहरुसँग छलफल नै नगरी प्रश्नपत्र बनाएको गुनासो गरे।
‘आयोगले प्रवेश परीक्षाको प्रश्न कस्तो हुनुपर्छ भनेर सम्बन्धि विश्वविद्यालयका डिनहरुसँग छलफल गरेर तयारी गर्नुपर्ने थियो,’ उनले भने, ‘फार्मेसी तर्फको प्रवेश परीक्षामा हामीसँग कुनै समन्वय समेत भएको छैन। आयोग यसमा गम्भीर हुनुपर्छ।’
आयोग के भन्छ?
आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी भने आयोगको प्रवेश परीक्षामा कुनै समस्या नभएको तर्क गर्छन्। उनले चिकित्सा शिक्षा तर्फका विभिन्न विषयमा अध्यननका लागि प्रवेश परीक्षा उत्तिर्ण हुनेले मात्र भर्ना पाउने बताए।
‘पास हुने विद्यार्थीहरुले प्रक्रिया अनुसार भर्ना पाउछन्,’ उनले भने, ‘खाली हुने सिट के गर्ने भनेर छलफल भएको छैन।’
प्रवेश परीक्षामा अप्ठ्यारो प्रश्नपत्र आएकाले धेरै विद्यार्थी प्रवेश परीक्षामै फेल भएको विज्ञहरुको टिप्पणी गलत भएको डा गिरीले बताए।
‘आयोगले लिएको परीक्षाको प्रश्नपत्र परीक्षार्थी बाहेकले हेर्न पाउँदैनन्, प्रश्नपत्र कस्तो थियो अरुलाई कसरी थाहा हुन्छ?’ डा गिरीले भने, ‘विज्ञहरुले प्रश्नपत्र गाह्रो भन्नुमै मेरो आपत्ती छ।’
उनले आयोगको प्रवेश परीक्षा नै उत्तीर्ण नभइ नेपाली विद्यार्थी विदेशका मेडिकल कलेजमा पढ्न नपाउने भएकाले विद्यार्थीलाई विदेशमा अध्ययन गर्न जान दिने नियत आयोगको नभएको बताए।
‘आयोगको प्रवेश परीक्षा पास नभइ विदेशमा गएर पनि पढ्न पाइदैन,’ उनले भने, ‘हाम्रो प्रवेश परीक्षाको नतिजाले त योग्य विद्यार्थीले नेपालमै मेडिकल कलेज छानी छानी पढ्न पाउने भए। आयोगले विद्यार्थीलाई विदेश जान दिने नियत होइन।’
प्रवेश परीक्षाको नजितामा चित्त नबुझेका विद्यार्थीले रिटोटलिङ गर्ने व्यवस्था गरिएको र त्यसका लागि असार २८ गतेसम्म निवेदन गर्न सकिने व्यवस्था भएको उनको भनाइ छ।
रिटोटलिङको नतिजा प्रकाशन भएपछि उत्तीर्ण भएपछि भर्ना प्रक्रियाका लागि म्याचिङ सुरु गरिने डा गिरीले जानकारी दिए।