ताप्लेजुङ- जिल्लाको सिदिङ्वा गाउँपालिकाले एमबिबिएस र सिभिल इञ्जिनीयरिङ अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। आवश्यक कानूनी प्रावधान बनाएर गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति दिइने भएको हो।
मङ्गलबार आयोजित गाउँसभामा एमबिबिएस र सिभिल इञ्जिनीयरिङ अध्ययनका लागि निम्नस्तरका विद्यार्थीलाई सहयोग पुर्याउन तथा गाउँपालिकाभित्रै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले छात्रवृत्ति प्रदान गर्न आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बनाइएको गाउँपालिकाले जनाएको हो। यसका लागि कानूनी प्रावधान र न्यूनतम मापदण्ड बनाएर लागू गरिने गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले जानकारी दिए।
गरिब तथा पछाडि परेका वर्ग समुदायका विद्यार्थीलाई सहयोग पुगोस् भनेर उक्त कार्यक्रम बनाइएको उनको भनाइ छ। उक्त छात्रवृत्ति वार्षिकरूपमा एकमुष्ट प्रदान गर्ने सोच राखिएको अध्यक्ष कडरियाले जानकारी दिए।
कोरोना सङ्क्रमणका कारण समयमा बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्न नसकेको गाउँपालिकाले अवस्था सामान्य हुँदै गएपछि मङ्गलबार रु ४२ करोड दुई लाख २९ हजार बराबरको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो।
यो वर्ष तीन वटा वडाका वडा कार्यालय भवन निर्माण, सिदिङ्वा धामलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, कृषि क्षेत्रलाई उकास्नेलगायतका योजनालाई प्राथमिकतामा राखिएको गाउँपालिका उपाध्यक्ष जीवन ताम्लिङले बताए।
रासस