काठमाडौं- नेपाली कांग्रेसका सांसद गगन थापाले साँझ ८ बजेपछि काठमाडौंलगायतका ठाउँमा कोरोनाको संक्रमण बढ्ने र बिहान घट्ने कहाँको अध्ययन हो भनी प्रश्न गरेका छन्।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप र कोरोना महामारीबारे सरकारको कामका विषयमा जानकारी गराएपछि प्रतिनिधि सभामा प्रश्न उठाउँदै थापाले कोरोनाको तेस्रो लहर भनी कुन अनुसन्धान हो? भन्ने प्रश्न उठाए।
खोपको काम प्रशंसायोग्य रहेको भन्दै थापाले खोप व्यवस्थापन यति धेरै कमजोर किन? भनी प्रश्न गरेका छन्।
‘कोरोनाको दोस्रो लहरपछि तेस्रो लहर आउने भनिएको छ। स्वाथ्य मन्त्रालयले दोस्रो लहर सकिएर तेस्रो लहर आयो भनेर कुन अध्ययनका आधारमा भनिँदैछ?’ थापाले प्रश्न गरे ‘बालबालिकालाई धेरै खतरा कुन अध्ययन हो?’
कतिपय स्थानका परीक्षा रोकिएका भन्दै उनले खोप दिएर परीक्षा दिने भनिएको अवस्था बारेमा जानकारी माग गरे।
‘केही अवस्थामा परीक्षा सुरु गर्ने भनिएको छ। यसरी कोभिड संक्रमित विद्यार्थीले परीक्षा हलमा बसेर परीक्षा दिइरहँदा त्यसबाट फैलियो भने कसले जिम्मा लिन्छ?’, थापाले प्रश्न गरे ‘हामी आईसीयू र भेन्टिलेटर गनिरहेका छौं। यसले मात्र पुग्छ कि जनशक्ति आवश्यकता हुन्छ?’