काठमाडौं– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियान चलाइरहेका संयुक्त संघर्ष समितिले प्रधानमन्त्री शेरबहादुर देउवा र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पत्र पठाएका छन्।
संघर्ष समितिले आफ्ना मागहरु सम्बोधन गर्नका लागि जिम्मेबार भई अग्रसरता लिन आग्रह गर्दै प्रधानमन्त्री देउवा र स्वास्थ्यराज्य मन्त्री श्रेष्ठलाई पत्र पठाएका हुन्।
प्रतिष्ठानमा “शिक्षा र स्वास्थ्य क्षेत्र भ्रष्टाचारमुक्त गराई सुशासन र पारदर्शिता कायम हुनुपर्ने“ भन्दै प्रतिष्ठानका शिक्षक, चिकित्सक तथा कर्मचारीहरुले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुद्दिकरण अभियान’ चलाएका छन्। सो अभियान सुरु भएको शुक्रबार ६० दिन पूरा भएको छ।
संघर्ष समितिले प्रतिष्ठानको विषयमा छानबिन हुनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेपछि सरकारले डा वैकुण्ठ अर्यालको संयोजकत्वमा उच्चस्तरीय कार्यदलले समेत बनाएका थियो।
कार्यदलले प्रतिष्ठानको समस्याबारे अध्ययन गरेर समस्या समाधानका लागि सरकारलाई सुझाव समेत दिएको थियो।
सो कार्यदलले दिएको सुझावपछि प्रतिष्ठानमा भएको समस्या समाधानका गर्ने भन्दै स्वास्थ्य मन्त्रालयको वार्ता टोलीले आन्दोलनरत पक्षसँग ६ बुँदे सहमति समेत गरेको थियो।
स्वास्थ्य मन्त्रालयको वार्ता टोलीले ६ बुँदे सहमति गरेको ९ दिन बितिसकेको भएपनि प्रतिवेदनको मूल मर्मअनुरुप कार्यन्वयन गर्ने प्रयासमा ढिलासुस्ति भएको आन्दोलनरत पक्षले बताएका छन्।
संयुक्त संघर्ष समितिले प्रधानमन्त्री देउवालाई समस्या पहिचान तथा छानबिन कार्यदल’को प्रतिवेदन अनुसार प्रतिष्ठानको समस्या समाधान गर्न आग्रह समेत गरेका छन्।
उनीहरुले आफूहरुको माग समयमा सम्बोधन नभए काम छोड्न बाध्य हुने चेतावनी समेत दिएका छन्।