काठमाडौं - चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षामा सिट संख्याभन्दा कम उत्तीर्ण भएको भन्दै सिटिइभिटी अन्तर्गत डिप्लोमा तहका पारामेडिकल विद्यार्थीहरुले पुनः प्रवेश परीक्षा गर्न माग गरेका छन्।
राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले तत्काल पुनः प्रवेश परीक्षा वा प्रवेश परीक्षाको उत्तीर्ण प्राप्तांककको प्रतिशत घटाई पुनः नतिजा प्रकाशित गरी रिक्त सिट संख्या भर्ना गर्न माग गरेका हुन्।
मेडिकल विषयमा कोटा संख्याभन्दा धेरै विद्यार्थी उत्तीर्ण भएपनि पारामेडिकल विषयमा निर्धारित सिट संख्याभन्दा कम विद्यार्थी उत्तीर्ण भएका थिए। स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन र विद्यार्थीको पढ्ने चाहनामा असर पर्न सक्ने भन्दै पुनः प्रवेश परीक्षा गर्न माग गरिएको आन्दोलनका संयोजक रंगमान मल्लले बताए।
प्रवेश परीक्षाको प्लस टु साइन्स र डिप्लोमा प्रमाणपत्र तहका विद्यार्थीहरुलाई प्राथमिकतामा राखी पाठ्यक्रमलाई ५०/५० प्रतिशतका आधारमा बनाइदिनुपर्ने उनीहरुको माग छ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा गिरीलाई ज्ञापन पत्र बुझाउन करिब ३५ जना विद्यार्थीहरु पुगेका थिए। नेपाल रेडियोलोजीकल सोसाइटीका अध्यक्ष मुकेश कुमार झा, फार्मेसी तर्फबाट सुस्मा बस्नेत, ल्याब टेक्निसियनबाट अनुसा महर्जन लगायतले ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन्।
आफ्ना मागहरु पुरा नभएर आगामी दिनमा आवश्यकता अनुसार कार्यक्रम सार्वजनिक गर्न सकिने संयोजक मल्लको भनाई छ।