प्युठान- जिल्लामा लामो समयदेखि क्षयरोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको विराट नेपाल मेडिकल ट्रस्ट (बिएनएमटी)ले मेडिकलजन्य स्वास्थ्य सामग्री सोमबार हस्तान्तरण गरेको छ।
कोरोना महामारीको आपतकालिन समयमा अग्रपंक्तिमा रहेर जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि करिब ७ लाख वरावरको स्वास्थ्य सामग्री स्वास्थ्यका र्यालय प्युठानका निमित्त प्रमुख मधुसुदन खड्कालाई हस्तान्तरण गरिएको हो।
बिएनएमटी नेपाल प्युठानका कार्यक्रम संयोजक गोविन्द माझीले उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। ४ सय सेट पिपिई, ५ सय थान एन ९५ मास्क, १ हजार थान सर्जिकल मास्क, ७ सय एमएल स्यानिटाइजर, ५ सय पिस फेस सिल्ड, ग्लब्स १ हजार थान र टिबीका बिरामी र महिला स्वास्थ्य स्वयं सेविकाहरुको लागि २ सय ५० सेट हाइजिन किट प्रदान गरेको संयोजक माझीले जानकारी दिए।
स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा बिएनएमटीलाई स्वास्थ्य कार्यालय प्युठानका निमित्त प्रमुख खड्काले धन्यवाद दिएका छन्। उनले यो सहयोगले स्वास्थ्यकर्मीको सुरक्षा प्रदान गर्न र काम गर्न सहज हुने विश्वास लिएको बताए। उनले भने ‘बिएनएमटीले उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरु जिल्लाका ९ वटा स्थानीय तहहरुमा रहेका १० वटा स्वास्थ्य संस्थाहरुलाई आवश्यकताको आधारमा पठाउने छौं।’
उनका अनुसार १० वटा स्वास्थ्य संस्थाहरुमा प्युठान अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र खलंगा, प्राथमिक स्वास्थ्य केन्द्र भिंगृ, सापडाँडा, देविस्थान, ओखरकोट, पुँजा, बांगेशाल, बरौंला स्वास्थ्यचौकी र आधारभुत स्वास्थ्य केन्द्र बाहानेलाई प्रदान गरिने छ।
विगत ४ बर्षदेखि स्वास्थ्य कार्यालय प्युठानसँग सहकार्य गर्दै आएको बिएनएमटीले यो कोरोना महामारीको समयमा जिल्लामा निरन्तर सहयोग गर्दै आइरहेको बिएनएमटी नेपाल प्युठानका कार्यक्रम संयोजक गोविन्द माझीले जानकारी दिए।