काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा गोविन्द केसीले उठाएका मागप्रति संवेदनशील भएको जनाएको छ।
स्वास्थ्य मन्त्रालयले डा केसीले उठाएका केही मागप्रति मन्त्रालयले भइरहेको प्रक्रियाबारे पनि स्पष्ट पारेको छ।
यसअघिका मितिमा सरकारले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि गरेका सम्झौता कार्यान्वयनका लागि प्रतिवद्ध भएको समेत मन्त्रालयले जनाएको छ।
मन्त्रालयले स्वास्थ्य राज्यमन्त्रीले स्वास्थ्य तथा शिक्षामा लगानी गरेका विषयबाट अलग भएको सार्वजनिक घोषणा गरेको समेत उल्लेख गरेको छ।
त्यसका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भइरहेको आन्दोलनका सन्र्दभमा छानविन समितिले प्रतिवेदन बुझाइसकेको र प्रतिवेदन अनुसार दोषि ठहर भएका पदाधिकारीलाई संरक्षण गर्ने नीति मन्त्रालयको नभएको समेत उल्लेख गरेको छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा कुनै पनि विश्व विद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्दा २०७३ मा तषर भएको मापदण्ड समय सापेक्ष परिमार्जन गर्नका लागि हाल छलफलको क्रममा रहेकोले उक्त परिमार्जित मापदण्ड अनुसार पदाधिकारी नियुक्ति प्रक्रिया अगाडी बढाइने जनाइएको छ।
स्वास्थ्य मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै हिजो प्रधानमन्त्री शेरबहादुर देउवा र डा केसी बिचको भएको वार्ता पश्चात अनसन स्थगित गरेको प्रति डा केसीलाई धन्यवाद पनि दिएको छ।
