काठमाडौं- सरकारले कोभिड महामारीको नियन्त्रण, व्यवस्थापन तथा नियमित स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी कार्यान्वयनका लागि उच्चस्तरीय समिति गठन गरेको छ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय उच्चस्तरीय समिति गठन भएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको साउन २८ गतेको निर्णय अनुसार राज्यमन्त्री श्रेष्ठको अध्यक्षतामा समिति गठन गरिएको हो।
समितिको उपाध्यक्षमा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल छन् भने सहउपाध्यक्षमा प्रमुख विशेषज्ञ डा दिपेन्द्र रमण सिंह छन्।
यस्तै सदस्यहरुमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा आरपी बिच्छा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्याय, औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेल र राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा रुद्र मरासिनी रहेका छन्।
समितिको सदस्य सचिवमा नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहनी छन्।
उच्चस्तरीय समितिको सचिवालय सञ्चालनका लागि कार्य समूह पनि गठन भएको छ। कार्य समूहमा डा गुण निधि शर्मा, यशोदा अर्याल, भिम प्रसाद सापकोटा, डा अमृत पोख्रेल र रविकान्त मिश्र रहेका छन्। कार्य समूहको संयोजक डा गुणा निधि शर्मा हुन् भने सदस्य सचिव मिश्र हुन्।
उच्चस्तरीय समितिलाई ८ बुँदे कार्यविवरण दिइएको छ। जसमा कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणसँग सम्बन्धित अन्तराष्ट्रिय सीमानाकामा हेल्थ डेस्क संचालन, क्वारेन्टाइन, ट्रेष्टिङ, आइसोलेसन, उपचार व्यवस्थापन, खोप आपूर्ति तथा अभियान संचालन, औषधि, औजार उपकरण खरिद तथा आपूर्ति व्यवस्थापन लगायतका विषयमा नीतिगत निर्णय गर्ने, कोभिड बाहेकका नियमित तथा अत्यावश्यक स्वास्थ्य सेवा प्रवाहलाई सुचारु गर्न आवश्यक नीतिगत निर्णय गर्ने, सबै स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहसँग समन्वय र सहजीकरण गर्ने लगायत छन्।