काठमाडौं - सरकारले गत पाँच वर्षमा २० लाख बढी कीटनाशक झूल वितरण गरेको छ। आर्थिक वर्ष २०७२/७३ देखि २०७६/७७ सम्ममा आम र नियमित वितरण गरी २० लाख १३ हजार २९ वटा कीटनाशक झूल वितरण गरेको हो।
सरकारले आम वितरण अन्तर्गत उच्च जोखिम क्षेत्रका समुदाय र नियमित अन्तर्गत गर्भवती तथा जोखिम सूहका लागि भन्दै झूल वितरण गर्दै आएको छ।
गएको पाँच वर्षमा आम वितरण अन्तर्गत १७ लाख २९ हजार ७४६ र नियमित अन्तर्गत २ लाख ८३ हजार २८३ वटा कीटनाश झूल वितरण गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार खरिद गरेर वितरण गर्दा एउटा झूलको मूल्य साढे दुई सयदेखि तीन सय रुपैयाँसम्म पर्छ।
कुन आर्थिक वर्षमा कति झूल वितरण ?
आ.ब | आम वितरण | नियमित वितरण |
२०७२/७३ | २४६१५७ | २३७९१ |
२०७३/७४ | ५२८५८४ | ५५९१९ |
२०७४/७५ | ६१०२५२ | ५४७८६ |
२०७५/७६ | २७६२२५ | ९४६५५ |
२०७६/७७ | ६८५२८ | ५४१३२ |
जम्मा | १७२९७४६ | २८३२८३ |
सामान्यतया वर्षमा जोखिमका आधारमा १० देखि १५ वटा जिल्लामा झूल वितरण गर्ने गरिएको महाशाखाले जनाएको छ। कोरोना महामारीले झूल खरिदका लागि आवश्यक बजेट तथा वितरण प्रक्रियामा असर गरेको छ।
महाशाखाका अनुसार यो वर्ष कति झूल वितरण गर्ने भन्ने बारे हाल यकिन भइसकेको छैन। झूल वितरण कार्यक्रमले औलौको जोखिम तथा बिरामी भेटिने क्रम घट्दै गइरहेको महाशाखाको दाबी छ।