काठमाडौं- कोभिड-१९ यूनिफाइड केन्द्रीय अस्पताल वीरमा दुई जना उपनिर्देशक नियुक्त भएका छन्। अस्पतालका प्रमुख प्रशासकिय अधिकारी डा भुपेन्द्र बस्नेतले डा अनुपमा कार्की र डा प्रज्वल श्रेष्ठलाई उपनिर्देशकमा नियुक्त गरेका हुन्।
डा कार्की अस्पतालमा छाला रोग विभागको प्रमुख हुन् भने डा श्रेष्ठ क्रिटिकल केयर विशेषज्ञ हुन्। डा अशेष ढुंगाना र डा नविन पोखरेलले उपनिर्देशकबाट राजीनामा दिएपछि उक्त पदमा नयाँ नियुक्त गरिएको हो।
डा बस्नेतका अनुसार कोभिड र ननकोभिड बिरामीलाई सहज रुपमा स्तरीय सेवा दिनका लागि दुई जना उपनिर्देशक नियुक्त गरिएको हो।
'हाम्रो अस्पतालमा कोभिड र ननकोभिड बिरामीको उपचार हुँदै आइरहेको छ' डा बस्नेतले भने, 'त्यसकारण दुवै सेवालाई स्तरीय बनाउन र त्यसको व्यवस्थापन लगायतका विषय हेर्ने गरी उपनिर्देशकहरुलाई जिम्मेवारीसहित नियुक्त गरिएको हो।' डा कार्कीलाई ननकोभिड तर्फ र डा श्रेष्ठलाई कोभिड तर्फको जिम्मेवारी दिइएको उनले बताए।
डा बस्नेतले अस्पतालमा आइसीयू, एचडीयू तथा अन्य शय्या विस्तारकाे काम अगाडि बढीरहेको पनि जानकारी दिए।