काठमाडौं- सरकारले नै आफैंले बनाएको नियमविपरित स्वास्थ्य कर कोषमा कम रकम जम्मा गर्ने गरेको छ। स्वास्थ्य मन्त्रालयमा रहेको कर कोषमा सुर्तीजन्य पदार्थको अन्त:शुल्कबाट उठेको रकम जम्मा गर्ने नियम छ।
सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने नियमावली २०६८ अनुसार सुर्तीजन्य पदार्थको अन्तशुल्कबाट उठेको रकमको २५ प्रतिशत स्वास्थ्य कर कोषमा जम्मा गर्ने व्यवस्था छ। तर सरकारले उक्त नियमविपरित कोषमा रकम जम्मा नगर्दा रकम अन्यत्र खर्च भइरहेको छ।
कोषमा २०७२/७३ देखि २०७५/७६ सम्मको सुर्तीजन्य पदार्थको अन्तशुल्कबाट ७५ अर्ब ७२ लाखको २५ प्रतिशतले हुने १८ अर्ब ७५ करोड १८ लाख रुपैयाँ प्राप्त हुनुपर्ने थियो। तर यो अवधिमा कोषमा जम्मा २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ मात्र जम्मा भएको छ।
कोषमा न्यून रकम जम्मा हुँदा कोषबाट अन्य निकायमा बाँडफाँट हुने रकमसमेत न्यून हुने देखिँदा तोकिएबमोजिम कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन।
कोषको रकमले सुर्तीजन्य पदार्थको प्रयोगको नियन्त्रण र नियमन तथा क्यानसर अस्पतालहरुलाई बिरामीको उपचारका लागि अनुदान उपलब्ध गराउँदै आइरहेको छ।