काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीको विवरण खोज्दै प्रतिवेदन तयार पार्ने काम अगाडि बढाएको छ। मन्त्रालयले माताहतका कर्मचारीको काज फिर्ता, रिक्त संख्या, आवश्यकताको पहिचान गर्दै नयाँ संगठन संरचना तयार पार्न लागेको हो।
मन्त्रालयले यसका लागि एक समिति बनाएर काम अगाडि बढाएको छ। मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा उपसचिव भानुभक्त न्यौपाने र अधिकृत दिपक रिजाल सदस्य छन्।
समितिले संकलन गरेको विवरणका आधारमा मन्त्रालयले पहुँचको भरमा काजमा सुगममा बसेकाहरुको काज फिर्ता गर्ने, समायोजनमा समस्या भएको समाधान गर्ने, स्थायी दरवन्दी, अस्थायी, करार तथा रिक्त रहेकाको विवरण खोज्ने छ। यसका साथै नयाँ संगठन संरचनाको काम पनि अगाडि बढाउने बताइएको छ।
समितिलाई एक महिनाको समय दिइएको छ।