काठमाडौं - पछिल्लो २४ घण्टामा २ हजार ७५ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ७०३ पीसीआर र ५ हजार ३७२ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै कुल संक्रमितको संख्या ७ लाख ४५ हजार ७३१ पुगेको छ। कुल संक्रमितमध्ये ३९ हजार ३२१ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ हजार ३८२ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ९५ हजार ९२५ पुगेको छ।
उक्त अवधिमा ३० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ।
हाल ३६ हजार १५ जना होम आइसोलेसन र ३ हजार ३०६ जना संस्थागत आइसोलेसनमा छन्। ४२३ जना क्वारेन्टाइन, ७१८ जना आइसीयू र १६६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।