काठमाडौं–मोरङस्थित कोशी र नोबल मेडिकल कलेज अगाडिबाट १० जना स्वास्थ्य बिचौलिया पक्राउ परेका छन्। उनीहरुलाई मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दशन जिसीले जानकारी दिए।
नोबल अस्पताल अगाडिबाट ७ र कोशी अस्पताल अघिबाट ३ गरी १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुमा युनिकेयर फार्मेसीका रोशन गुप्ता, क्याटलाइसेस फार्मेसी मोहमद सिराद, कृपा फार्मेसीका मोहमद समीर, सुजित यादव, दाजुभाइ फार्मेसीका अमित यादव, एपी फर्मेसीका फिरोज रोय र अली फार्मेसीका विश्वास मण्डल छन्।
यसैगरी श्रीराम चौधरी, सूर्यनारायण यादव र मो. जली पक्राउ परेका छन्। उनीहरुले अस्पताल जान लागेका बिरामीहरुलाई फकाएर विभिन्न प्रलोभन देखाई बीचबाटोबाटै बिचौलियाको काम गरी विभिन्न क्लिनिक र महँगा निजी अस्पतालमा पुर्याएर कमिशन लिने गरेको पाइएको एसपी जिसीले बताए।
उनीहरुमाथि अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ।