काठमाडौं- नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तर्गत आउने शनिबार वरिष्ठ अर्थोपेडिक सर्जन डा ऋषि बिष्ट र अर्थोपेडिक्स तथा ट्रमा सर्जन डा कुलदीप मंगल जोशी नेतृत्वको टिमले सेवा दिने भएको छ।
नर्भिकमा कार्यरत वरिष्ठ अर्थोपेडिक सर्जन डा बिष्ट र ट्रमा सर्जन डा जोशीले नि:शुल्क ओपिडी सेवा दिने भएका हुन्।
नर्भिकले आउने शनिबारदेखि नै सहुलियत दरमा घूँडा, तथा शरीरका अन्य जोर्नीसँग सम्बन्धित शल्यक्रिया (ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरी) समेत सुरु हुने घोषणा गरेको छ। शनिबारको निशुल्क ओपिडीमा आउने बिरामीहरुले समेत ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरीका लागि नाम टिपाउन सक्ने व्यवस्था मिलाइएको छ ।
बजारको भन्दा निकै सहुलियत दरमा ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरीको सेवा उपलब्ध गराइने नर्भिक इन्टरनेशनल अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले जानकारी दिएका छन्।
हाडजोर्नीसँग सम्बन्धित समस्या भएका र शल्यक्रिया गर्नुपर्ने बिरामीहरुले फ्री ओपिडीको साथै सहुलियत दरको शल्यक्रिया सेवा समेत लिन सक्नेछन्।
नर्भिकले विगत केही साता अघिदेखि आफ्नो कर्पोरेट सोसियल रेस्पोनसिबिलिटी (सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई निशुल्क ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ। यही क्रममा शनिवार डा. बिष्ट र उनको टिमले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म नर्भिक अस्पतालमै बिरामीहरुलाई निःशुल्क ओपिडी सेवा दिनेछन्।