काठमाडौं- जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ। बिहीबार मध्याह्न साढे १२ बजे उपचारका क्रममा बयोधा अस्पताल बल्खुमा टुहुरेको निधन भएको जनसांस्कृति महासंघका नेता सरल सहयात्रीले जानकारी दिए।
भदौ १ गते मस्तिस्कघात भएपछि उनलाई अस्पताल लगिएको थियो। टुहुरेको पार्थीव शरीरलाई आज साढे १ बजेदेखि २ बजेसम्म नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ। टुहुरेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने जनाइएको छ।
लामो समय एमालेमा रहेका उनी पछि संविधान सभा सदस्य एवं माओवादी निकट जनसांस्कृतिक महासंघका संरक्षक थिए।
टुहुरेको 'आमा दिदी बहिनी हो, कति बस्छौ दासी भइ', 'बसाइँ हिँड्नेको ताँतीले' लगायत गीत चर्चित छन्। उनले १५० भन्दा बढी गीत गाएका छन्।