काठमाडौं - औषधिको मूल्य परिमार्जनका लागि औषधि व्यवस्था विभागले बोलाएको बैठकमा छलफल टुंगोमा पुग्न नसकेपछि फेरि अर्को बैठक बस्ने भएको छ। विभागमा करिब चार घण्टा लामो समय बसेको बैठकले औषधिको मूल्य परिमार्जन गर्ने विषयमा कुनै निर्णय भने गरेको छैन।
आगामी बैठकले औषधिको मूल्य परिमार्जन गर्ने विषयमा निर्णय गर्न सक्ने बैठकमा सहभागी नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले बताए। औषधिको मूल्य बढ्न र घट्न दुवै हुनसक्ने उनको भनाई छ।
मूल्य परिमार्जन सहित संशोधन गर्ने, मूल्य निर्धारण कार्यविधि र मूल्य निर्धारण नभएका औषधिको मूल्य निर्धारण गर्ने विषयमा विभागले बैठक बोलाएको थियो। तर मूल्य परिमार्जनका विषय नै नटुंगिएपछि अन्य विषयमा बिहीबार छलफल हुन नसकेको श्रेष्ठले जानकारी दिए।
उनले भने, ‘आज मूल्य परिमार्जनको विषयमा मात्र छलफल भयो। तर टुंगिएको छैन। पुनः ४÷५ दिनपछि बैठक बस्नेछ। औषधिको मूल्य घट्न र बढ्न दुवै सक्छ।’
विभागले नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, नेपाल फर्मास्युटिकल्स एशोसिएसन र उपभोक्ता जागरण तथा हित संरक्षण मञ्चलाई बैठकमा बोलाएको थियो।