नारायण अधिकारी, चितवन – चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामीलाई बीमा र विपन्न सेवा उपभोग गर्न समस्या भएको छ।
अस्पतालले बिहान ९ बजेदेखि दिउँसो ३ः३० बजेसम्म मात्रै विपन्न र बीमाको सुविधा दिने भएपछि अस्पताल भर्ना भएका बिरामीलाई समस्या भएको हो। अन्तरङ्गका बिरामीलाई बिहान र साँझ चिकित्सकले विभिन्न परीक्षण र औषधि लेखिदिने भएपछि उक्त सेवा उपभोगमा समस्या हुने गरेको छ।
उदयपुरको कटारीबाट उपचारका लागि आएका खड्कबहादुर मगर अस्पतालमा भर्ना भएर बस्नुभएको १३ दिन पुगेको छ। उनले दिउँसो ३ बजेदेखि विपन्न र बीमाको कार्डले काम नगरेपछि व्यक्तिगत खर्चबाट उपचार गराउँदै आएका छन्।
उपचारमा रहेका उनको रेखदेखमा बस्दै आएकी उनकी श्रीमती मिनाकुमार मगरले भने, “साँझ बीमा र विपन्नको कार्डले काम नगर्दा उपचारमा ठूलो रकम खर्च भएको छ।” चिकित्सकले बिहान र साँझ विभिन्न परीक्षण र औषधि लेखिदिने भएपछि विपन्न र बीमाबाट खर्च गर्न दिउँसोको समय कुर्नुपर्ने उनको भनाइ छ। शनिबार र सार्वजनिक बिदाका दिनमा समेत उक्त सेवा नपाइने उनको गुनासो छ ।
उनले भनिन, “टाढाबाट आएका छाँै। समस्या भएर कसलाई भन्ने। कसैले हाम्रो कुरा सुन्दैन।” चिकित्सकले साँझपख मात्रै परीक्षणका लागि पठाउँदा समस्या हुने गरेको उनको गुनासो छ।
यस्तै पीडा छ सिराहबाट उपचारका लागि आएकी काजलकुमारी सिंहको पनि। उपचारका लागि अस्पतालमा भर्ना भएको एक साता भयो। उनले गुनासो गरिन्, “साँझ चिकित्सकले परीक्षण गरेपछि, ल्याब परीक्षण, एक्स–रे, भिडियो एक्स–रेलगायतका परीक्षण र औषधि लेखिदिनुहुन्छ । बीमा र विपन्नबाट सेवा लिन भोलिपल्ट दिउँसोसम्म कुर्नुपर्छ ।”
क्यान्सर रोगको उपचारका लागि देशभरबाट र छिमेकी देश भारतबाटसमेत बिरामी आउने गर्दछन्। टाढा–टाढाबाट आएका बिरामी र बिरामीका कुरुवा स्वास्थ्य बीमा र विपन्नको सुविधा लिएपछि राहत पाउने आशमा रहेका हुन्छन्। तर बिहान ९ बजे देखि ३ः३० बजेसम्म मात्र त्यसले काम गर्ने र अन्य समयमा काम नगर्ने हुँदा आर्थिक समस्या आउने गरेको बिरामीका कुरुवाको गुनासो छ।
अस्पतालमा सार्वजनिक बिदाको दिनबाहेक अन्य दिन बिहान ९ बजेदेखि ३ः३० बजेसम्म बीमा र विपन्नको सुविधा पाइने अस्पतालका एक कर्मचारीले बताए। केही समयअघि २४सै घण्टा सेवा दिने प्रयास गरिएको भए पनि अहिले रोकिएको हो। नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाका भवदत्त शर्माले आफूले क्यान्सर अस्पतालमा उपचारका क्रममा बीमा र विपन्नको रु दुई लाखको सुविधा पाउने भए पनि रु ३५ हजारभन्दा बढी पाउन नसकेको गुनासो गरे।
उनले भने, “मेरो खर्च भने रु दुई लाखभन्दा बढी भयो । तर बीमा र विपन्नको खर्च हुन सकेन।” सरकारले दिएको सुविधा अस्पतालबाट पाउन नसकिएको उहाँको गुनासो थियो।
अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले बीमा र विपन्नको सेवा लिने बिरामी दिउँसो १ बजेसम्म बढी हुने र त्यसपछि बीमाको रकम दाबी गर्नुपर्ने भएकाले ३ बजेपछि सेवा बन्द गरिएको बताए। उनले भने, “अस्पतालमा त्यस्तो समस्या छैन। बिरामी र आफन्तले अनुरोध गरे सेवा विस्तार गर्न सकिन्छ।”
गत आर्थिक वर्षमा यस अस्पतालबाट विपन्नको सेवा लिने बिरामीको सङ्ख्या पाँच हजार ६६१ जना रहेको थियो। सोमध्ये ३३ जनाले वाग्मती प्रदेश सरकारले प्रदान गरेको सेवासमेत लिएका थिए। सङ्घीय सरकारले क्यान्सर रोगको उपचारका लागि रु एक लाख र वाग्मती प्रदेश सरकारले रु ५० हजार विपन्न नागरिकको उपचारका लागि सहयोग गर्दै आएको छ।
यसैगरी स्वास्थ्य बीमा गरेकाले परिवार सदस्यका आधारमा बढीमा रु दुई लाखसम्मको सेवा पाउने गर्दछन्। क्यान्सर रोगको उपचारमा ठूलो धनराशि खर्च हुने गर्दछन्। रासस