काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ चिकित्सकहरुले जुनियरलाई मेडिकल सुपरिटेन्डेन्ट नियुक्त लागेको भन्दै प्रधानमन्त्री, स्वास्थ्य राज्यमन्त्री र सचिवलाई पत्र बुझाएका छन्। उनीहरुले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, राज्यमन्त्री उमेश श्रेष्ठ र स्वास्थ्य सचिव डा रोशन पोखरेललाई पत्र बुझाएका हुन्।
अस्पतालमा ११औं तहका वरिष्ठ चिकित्सक हुँदाहुँदै १०औं तहकालाई मेडिकल सुपरिटेन्डन्ट नियुक्त गर्न लागेको भन्दै उनीहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन्।
डा रुद्र मरासिनी, डा ममता भट्टराई, डा रुपेश यादव, डा अभयकुमार पोखरेल, डा सिलु श्रेष्ठ र डा विनोद शेरचनले पत्र लेख्दै वरिष्ठताका आधारमा जिम्मेवारी दिन अनुरोध गरेका हुन्।
ट्रमामा हाल भएका प्रमुख पनि १०औं तहका हुन्। उनीहरुले यस्तो परिपाटीको पनि विरोध गरेका छन्।
'एघारौं तहका हामी चिकित्सकहरु ट्रमा सेन्टरमा कार्यरत छौं तर हामी भन्दा धेरै कनिष्ठ १०औं तहका चिकित्सकलाई कार्यालय प्रुमुखको जिम्मेवारी दिइएको छ जसले गर्दा दैनिक कार्यसम्पादनमा कठिनाई भइरहेको जानकारी गराउँदछौं,' पत्रमा भनिएको छ, '११औं तहको दरबन्दी भएको ठाउँमा लामो समयदेखि सबैभन्दा कनिष्ठलाई कार्यालय प्रमुख बनाउँदा हामीले आफू अपमानित भएको र सरकारले गरेको बढुवा प्रणाली पनि औचित्यहिन भएको महसुस गरेका छौं।'
उनीहरुले आगामी दिनमा पहुँचको आधारमा गरिने गलत परम्पराको अन्त्य गरी कार्यदक्षता र वरिष्ठताको आधारमा प्रचलित स्वास्थ्य ऐन तथा नियमावली अनुसार जिम्मेवारी दिन परिपाटीको सुरुवात गरिदिन अनुरोध गरेका छन्।
ट्रमाका हालका प्रमुख डा सन्तोष पौडेल पनि राजनीतिक पहुँचका आधारमा नियुक्त भएका हुन्। उनी १०औं तहका कर्मचारी हुन्। सरकार परिवर्तनपछि अहिले ट्रमामा पनि नेतृत्व परिवर्तनको तयारी भइरहेको छ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार फेरि पनि ट्रमामा १०औं तहका कर्मचारीको नियुक्तिको तयारी भइरहेको छ। राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नि आरजुको दबाबमा १०औं तहका कर्मचारीलाई नियुक्त गर्न लागेका हुन्।
आरजुको दबाबमा कनिष्ठलाई मेसुको जिम्मेवारी दिन लागेको चाल पाएपछि ११औं तहका कर्मचारीले विरोध गरेका हुन्।
