काठमाडौं- चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसको आरक्षण कोटामा नाम निकाल्न सफल भएका ८ जनाको नाम योग्यताक्रमबाट हटाएको छ।
आयोगले आइतबार योग्यताक्रमबाट हटाएकाहरुको नामावली सार्वजनिक गरेको हो। गलत कागजपत्र पेश गरेर आरक्षणमा आवेदन दिएको पाइएको भन्दै आयोगले उनीहरुको नाम योग्यताक्रमको सूचीबाट हटाएको जनाएको छ।
आयोगले सार्वजनिक गरेको सूचना अनुसार आदिवासी जनजाती र थारु समूहबाट एमबीबीएसमको आरक्षणमा रहेका अमनकुमार चौधरी, खस आर्य र पिछडिएको क्षेत्र समूहबाट एमबीबीएसमा नाम निकालेका वीरेन्द्र धिताल, खस आर्य र पिछडिएको क्षेत्र समूहबाट नाम निकालेका गगन प्याकुरेल, पिछडिएको क्षेत्रबाट एमबीबीएसमा नाम निकालेका लकसन शाही, खस आर्यबाट एमबीबीएसमा परेका सुजन घिमिरेको नाम हटाइएको छ।
यसैगरी, खस आर्य र पिछडिएको क्षेत्रबाट एमबीबीएस र बीडीएसमा नाम निकालेका सूर्यकिरण जोशी, महिला दलित महिला र दलित कोटाबाट एमबीबीएसमा नाम निकालेकी स्वस्तिका सुन्दास र महिला आदिवासी जनजाती कोटाबाट एमबीबीएस र बीडीएसमा नाम निकालेकी स्मारिका श्रेष्ठको नाम पनि हटाइएको आयोगले जनाएको छ।
