काठमाडौं- काठमाडौं उपत्यकामा थप ९०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टाको अवधिमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सोमबार उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी थप ९०६ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका छन्। काठमाडौं जिल्लामा ६६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, ललितपुर जिल्लामा थप १३८ र भक्तपुर जिल्लामा थप १०३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
सोमबार थपिएका संक्रमित समेत गरी काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ९ हजार १४६ पुगेको छ। सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका छन्।
मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा सक्रिय संक्रमितको संख्या ५ हजार ५८३ छ। यस्तै, ललितपुरमा २ हजार २१० र भक्तपुर जिल्लामा १ हजार ३५३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टामा देशभर भने २ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी १६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।