काठमाडौं– नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टरले छैठौं वार्षिक उत्सवको अवसरमा आँखाको प्लाष्टिक सर्जरी सेवामा विशेष छुटको व्यवस्था गरेको जनाएको छ।
बुधबार छैठौं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा सेन्टरका निर्देशक रोशन कक्षपतीले ६ वर्षको अवधिमा सेन्टरले ओपीडी तथा विभिन्न ठाउँमा आयोजना गरिएको नि:शुल्क शिविर मार्फत करिब १० हजार व्यक्तिलाई उपचार सेवा प्रदान गरेको बताए।
यस्तै करिब ५ सय जनाको सफल कस्मेटिक सर्जरी सेवा प्रदान गरेको उनले जानकारी दिए।
वार्षिक उत्सवको अवसरमा सेन्टरले एक महिनासम्म सर्जरी तर्फ २० प्रतिशत, चश्मा बनाउन २० प्रतिशत छुट तथा नि:शुल्क आँखा परीक्षण गर्ने र न्युनतम दर्ता शुल्क ५० मा सामुदायीक आँखा क्लिनिक खोलिएको कक्षपतीको भनाइ छ।
कार्यक्रममा डा पुजा राजभण्डारीले सेन्टरले स्थापनाकाल देखि नै सम्पूर्ण आँखाको रोगको जाँच तथा उपचार सेवा प्रदान गर्दै आइरहेको बताइन्।
सेन्टरले आँखाको प्लाष्टिक सर्जरी अन्तरगत आँखाबाट निरन्तर आँशु वा पिप बगिरहरने बिरामीहरुको उपचार, आँखा वरिपरि बोसो, मुसा, मासुको डल्लो, ट्युमर हटाउने, उमेरको कारण आँखाको डिल बाहिर वा भित्र फर्केको उपचार, आँखाको ढकनी तलतिर सरेको उपचार र रोगका कारण आँखा साना वा ठूला भएकाहरुको उपचार गर्दै आइरहेको डा राजभण्डारीले बताइन्।
यस्तै कस्मेटिक आई सर्जरी अन्तरगत आँखाको मुन्द्री बनाउने, मंगोलियन आइलिड सर्जरी, आँखाको बोसो हटाउने, आइब्रो तथा चेकलेफ्टिङ गर्न र अनुहारको चाउरीपना हटाउने लगायतका कस्मेटिक सेवा पनि सञ्चालन गरिरहेको डा राजभण्डारीको भनाइ छ।
सेन्टरले यी बाहेक दृष्टि दोष, उच्चरक्तचाप, मधुमेह, थाइराइड, बाथरोग र शरीरको अन्य भागमा लागेको रोगका कारणले आँखामा पर्ने असरको जाँच समेत गर्दै आएको जनाइएको छ।
वार्षिक उत्सवको अवसरमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु मर्हजनले सेन्टरको व्यवसायीक सफलताको शुभकामना समेत दिएका थिए।